सिराज खान
नेपालगन्ज, साउन ४ गते। बढ्दो सवारी साधन र चालकको लापरबाहीले बाँकेमा सडक दुर्घटना बढ्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १२४ वटा सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु र १२९ जना घाइते भएका थिए। दुर्घटनामा परेर १० वटा पशु चौपायाको मृत्यु भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले तीव्र गतिमा बढी रहेका सवारी साधन, चालकको बेवास्ता ट्राफिक जनशक्तिको अभावले गर्दा दुर्घटना हुने गरेको बताउनुभयो।
उहाँले यो जिल्ला भारतीय सिमानासँग जोडिएको जिल्ला भएकोले यहाँ आउने भारतीय सवारी साधनको लापरबाहीका कारण पनि सवारी दुर्घटना बढी हुने गरेको बताउनुभयो।
सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले ट्राफिक नियमको पालनामा कडाइ गरिरहेको जनाएको छ। तर, मादक पदार्थ सेवन र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रहरी पूर्णरुपमा सफल भएको पाइँदैन।
यद्यपि जिल्लाका ट्राफिक प्रहरी प्रमुख सुनारले भने आफूहरूले प्राप्त जनशक्तिको आधारमा ट्राफिक सचेतनासहित चेकजाँचलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो।
उहाँले जिल्लामा गत आर्थिक वर्षमा मात्र मापसेका दुई हजार ८५५ वटा सवारी साधनलाई कारबाही गरेर २८ लाख ५५ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो।
ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नम्बर १२ को चप्परगौडीदेखि राप्ती सोनारीको ढकेरी हुँदै शमशेरगञ्जसम्मको सडकखण्डलाई बढी दुर्घटना हुने सडक खण्डको रूपमा पहिचान गरेर सो सडकमा विशेष निगरानी राख्ने गरेको छ।
विभिन्न कारणले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने हुँदा नागरिक स्वयम् आफैँ सचेत र अनुशासित रहेमा ८० प्रतिशत दुर्घटनालाई न्यूनीकरण गर्न सकिने प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि गत आर्थिक वर्षमा मात्र जिल्लाका ट्राफिक प्रहरी कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेर करिब ३४ हजार बढी सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेतीकरण गर्ने काम पनि गरेको सो कार्यालयले जनाएको छ।