• १३ साउन २०८१, आइतबार

रुपन्देहीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

blog

खेतमा रोपाइँ गर्दै रुपन्देहीका कृषक । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे

बुटवल, साउन ४ गते । रुपन्देहीमा यो वर्ष ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार रुपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदैआएको छ । 

यो वर्ष असारको दोस्रो सातादेखि वर्षा भए पनि असारको तेस्रो साताबाट वर्षा  कम हुँदा साउनको पहिलो सातासम्म १० प्रतिशत खेतमा धान रोपाइँ अझै नसकिएको हो । 

ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिलकानु बानियाका अनुसार प्रतिकूल मौसमबिच अहिलेसम्म ९० प्रतिशत खेतमा धान रोपाइँ भएको बताउनुभयो । केही दिन भित्रमा रुपन्देहीमा सबै खेतमा धान रोपाइँ सम्पन्न हुने बताउनुभयो । उता कृषकले भने यो वर्ष पनि समयमै मल नपाउँदा धानको उत्पादन घटने चिन्ता लागेको बताउँछन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान रामनरेश यादवले पानी नपरेका कारण धान रोपाइँ ढिलो भएको बताउँदै कहिले पानी आउला र रोपाइँ सुरु गरौँला भनेर दिन बिताइरहनुपरेको गुनासो गर्नुभयो । 

समयमा धान रोप्न नपाएपछि उत्पादनमा कमी आउने चिन्ताले उहाँलाई सताएको छ । यसले चिन्ता थपिएको रुपन्देही सैनामैनाका किसान विजय यादवले बताउनुभयो । 

समयमा पानी नआउनु र अर्कोतिर मल पनि भनेजति नपाएका कारण धान उत्पादन घटने हो कि भन्ने चिन्ता उहाँमा छ । ‘पर्याप्त पानी नपरेसम्म रोपाइँ सुरु हुन सक्दैन, रोपाइँ गर्नेगरी पानी परेको छैन, साउन ४ गतेसम्म पनि रोपाइँ गर्न नपाएपछि उत्पादनमा कमी आउने सम्भावना बढेको छ’ उहाँले भन्नुभयो । 

रुपन्देही तराईमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये एक मानिन्छ । रुपन्देहीको दक्षिणी क्षेत्रका किसानका खेतमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने किसानको बाध्यता छ ।