• १२ साउन २०८१, शनिबार

योजना आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता

blog

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रयसङ्घीय उच्च आयुक्त रबाव फतिमा । तस्बिर : योजना आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालय

काठमाडौं, साउन ४ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त रबाव फतिमाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।

द्विपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसङ्घीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने आपसी सरोकारका विभिन्न विषयमा छलफल भएको न्यूयोर्कस्थि नेपालको स्थायी नियोगले जनाएको छ ।

भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले पनि महत्त्वपूर्ण छलफल भएको ट्वीटरमार्फत प्रतिक्रिया दिनुभएको छ । उहाँले एलडिसीको अध्यक्षको रुपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई धन्यवाद दिनुभएको छ । 

‘‘नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट हुँदा खुसी लागेको छ, एलडिसी अध्यक्षको रुपमा बलियो नेतृत्व गर्नुभएकोमा मैले उहाँलाई धन्यवाद दिएँ,’’ फतिमाले ट्वीटरमा लेख्नुभएको छ, ‘‘हामीले दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल गर्यौ ।’’

यूएनको फोरमा आयोग उपाध्यक्षले भन्नुभयो, ‘कोही पनि नछुट्ने गरी अघि बढौँ’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्चस्तरीय राजनीतिक फोरममा बिहीबार बोल्नुहुँदै ‘एसएमइज’ मा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्रै नभएको बताउनुभयो । 


नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)का अध्यक्ष समेत रहेका उपाध्यक्ष श्रेष्ठले एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि लगानी भएको हुने बताउनुभयो । 

उच्च स्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुग्नुभएको उपाध्यक्षले विभिन्न तीन वटा शत्रमा नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो । उपाध्यक्ष श्रेष्ठले नेपालले पहाडी पर्यावरणीय संरक्षण पनि हरसम्भव गरिरहेको जानकारी दिनुभयो । एसडिजीलाई सफल बनाउनुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले भन्नुभएको छ, ‘‘एलडिसी सफल भए एसडिजी सफल हुनेछन् ।’’

नेपाली टोली भोलि (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम छ । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा सङ्घीय सांसद तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, सङ्घीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।