• १३ साउन २०८१, आइतबार

बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ

blog

राममणि दाहाल

हेटौँडा, साउन २ गते । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। 

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो। 

उहाँले भाडा समायोजनका लागि सिफारिस गर्न समिति रहेको र समितिको सिफारिसका आधारमा मन्त्रालयले निर्णय गर्ने बताउँदै छलफलको क्रममा रहेको समायोजनमा प्रक्रियागत रूपमा ढिलाइ हुने बताउनुभयो। 

“मन्त्रालयले निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित भएपछि मात्र समायोजन भएको भाडा दर कार्यान्वयनमा आउँछ। बागमती प्रदेशमा बिहीबार र सोमबार मात्र प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था रहेकाले सार्वजनिक सवारीसाधनको नयाँ भाडा दर समायोजनमा ढिलाइ हुने छ। भाडा समायोजना प्रक्रिया यहाँका अलि लामो छ, त्यसैले ढिलाइ हुन्छ,” उहाँले गोरखापत्रलाई भन्नुभयो।

छलफल र प्रक्रियामा रहेको बताउँदै गत जेठ महिनामा समेत यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर समायोजन गरेको एक सातापछि मात्रै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको थियो। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले जेठ ३ गते भाडा समायोजन गरेकोमा प्रक्रियागत ढिलाइ भन्दै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सातापछि जेठ १० गते भाडा समायोजन गर्दै करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर घटाएको थियो। 

मन्त्रालयका सूचना अधिकारी पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका आधारमा सार्वजनिक सवारीसाधनको भाडा दर घटाउने निर्णय भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले गर्ने बताउनुभयो।  यसअघि गत जेठमा सार्वजनिक सवारीका साधनलाई तीन वर्गमा विभाजन गरी भाडा दर समायोजन गरिएको थियो। 

उहाँका अनुसार भाडा निर्धारण/समायोजन सिफारिस समितिको निर्णयलगायत आवश्यक प्रक्रिया पूरा गरी राजपत्रमा प्रकाशित गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइने व्यवस्था छ।

गत जेठमा मालवाहक सवारीसाधनमा चार प्रतिशतभन्दा केही बढी र उपत्यकाभित्र चल्ने सिटी बसमा झन्डै छ प्रतिशतका दरले भाडा दर घटाइएको थियो। साथै उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा ५.९० प्रतिशतले, बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने मालवाहक सवारीसाधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटेको थियो। यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णय अनुसार वैशाख १ गते नयाँ भाडा दर लागु गरिएको थियो। 


अन्तरप्रदेश यातायात भाडा घट्यो

सरकारले प्रदेशबिच सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर घटाएको छ । वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार इन्धनबापतको ४० प्रतिशत हिस्साको समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । जस अनुसार पेट्रोल र डिजेलको मूल्य पाँच प्रतिशतले बढेमा वा घटेमा सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्छ । 

समायोजन गरिएको नयाँ मूल्य अनुसार यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशतले घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ र तराईमा सञ्चालन हुने मालवाहकमा ३.०९ प्रतिशतले भाडा घटेको छ । 

पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर प्रणाली अनुसार भाडा घटाइएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिनुभयो । घटाएको भाडादर सामेबारदेखि लागु भएको छ । 

स्वचालित प्रणाली अनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपियाँ घटेको थियो । सोही आधारमा विभागले भाडा घटाएको हो । विभागले अन्तरप्रदेशको भाडादर समायोजन गरे पनि प्रदेशभित्रको भाडादर समायोजन भने प्रदेश सरकारले गर्ने व्यवस्था छ । वैज्ञानिक भाडादर समायोजन प्रणालीमा ४० प्रतिशत इन्धनबापतको समायोजन गरिन्छ भने ६० प्रतिशत सवारीसाधनको पार्टपुर्जा, मोबिल, मर्मतलगायतको खर्च र बजार महँगीका आधारमा समायोजन गरिन्छ ।