• १३ साउन २०८१, आइतबार

कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ

blog

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी), साउन १ गते । असार महिना सकिँदा कोशी प्रदेशमा करिब ५६ (५५.९०) प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार असार २८ सम्म कुल क्षेत्रफलको ५५.९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।  

कोशी प्रदेशका अधिकांश स्थानमा धान रोपाइँ भएको छ । कोशी प्रदेशको तराईका जिल्लामा ६०.३०, मध्यपहाडमा ४६.६४ र उच्च पहाडमा ४९.६८ प्रतिशत स्थानमा मात्रै रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीकाले बताउनुभयो । 

ताप्लेजुङ जिल्लामा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा  ४३ प्रतिशतमा रोपाइँ भएको छ । सङ्खुवासभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि ५० प्रतिशतमा रोपाइँ भएको छ ।

सोलुखुम्बु जिल्लामा १ हजार ५ सय २५ हेक्टरमा धान खेती हुने भए पनि ८५ प्रतिशत रोपाई भएको कृषि तथा सहकारी मन्त्रालय काशीले जनाएको छ । 

त्यस्तै, पाँचथर जिल्लामा ९ हजार २ सय ३ हेक्टरमा धान खेती हुँदै आएकोमा असार सकिँदासम्म ५२ प्रतिशत रोपाई भएको छ । इलाममा १४ हजार ८ सय १५ हेक्टरमा धान खेती हुने गरेकोमा ४५ प्रतिशत रोपाई भएको छ ।  १ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने भोजपुरमा ५६.०१ प्रतिशत रोपाई भइसकेको छ ।  

त्यस्तै, तेह्रथुम जिल्लामा १० हजार १ सय ७५ हेक्टरमा धान खेती गरिँदै आएकोमा ७० प्रतिशत रोपाई भइसकेको छ  ।  ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटा जिल्लामा ४५ प्रतिशत रोपाई भएको छ । उदयपुर जिल्लमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि २५ प्रतिशत मात्रै रोपाई भएको छ । ओखलढुङ्गा जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये ५५.६० प्रतिशतमा मात्रै रोपाई भएको छ । 

खोटाङ जिल्लमा १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि ३३.५० प्रतिशतमा रोपाई भएको छ । झापा जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ६२.२९ प्रतिशतमा मात्रै रोपाई भएको छ ।  मोरङ जिल्लामा ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ६५ प्रतिशतमा मात्रै रोपाई भएको कृषि तथा सहकारी मन्त्रालय कोशीले जनाएको छ । 

गत वर्ष असार सकिँदा कोशी प्रदेशमा ४८.६४ प्रतिशत स्थानमा रोपाई भएको कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिनुभयो । 

यता, सुनसरी जिल्लामा पनि अधिकतर स्थानमा धान रोपाई भएको छैन । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार सकिँदासम्म ५० प्रतिशत स्थानमा रोपाई भएको छ ।  कोशी प्रदेशमा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।