रमेश विश्वकर्मा
गुल्मी, असार ३१ गते । गुल्मीको ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने भएको छ । साउन महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुँदा यो महिना आफैंमा अत्यन्त ठुलो धार्मिक महत्व रहेकाले धार्मिक तथा पौराणिक नीति अनुसार बलि पूजाका लागि निषेध भएकाले यस वर्ष रेसुङ्गामा बलि पूजा नहुने भएको रेसुङ्गा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो ।
त्यस समयमा प्रकाण्ड विद्वानबाट साउन ७ गते देखि ११ गतेसम्म पुरुषोत्तम मासको महिमाको बारेमा पुरुषोत्तम महात्म्यको पाठपारायण तथा कथा वाचन हुनेछ । “साउने मेलाको अवसरमा यज्ञशाला परिसरमा मलमासको महत्व के हो ?, मलमासमा के गर्नुहुन्छ ? के गर्नुहुन्न ?, किन मलमास भनियो ? भन्ने जस्ता विषयमा पुरुषोत्तम माहात्म्यको पाठपारायण र कथा वाचन कार्यक्रमको आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “रेसुङ्गामा पुग्ने भत्तजनहरुलाई रेसुङ्गा धामको महापोखरीमा स्नान गरी यज्ञशाला परिसरमा सञ्चालन हुने पाठपारायण तथा कथा श्रवण गरी पुण्य लाभ लिन सकिन्छ ।”
रेसुङ्गा महापाखरीलाई सरसफाइ, रङ्गरोगन गरी विधिपूर्वक अयोध्या, प्रयागबाट गङ्गा जमुना सरस्वती नदीको जल, काशी, गया, कालीगण्डकी, मुक्तिनाथ, कागबेनी, वराहक्षेत्र चतराधामबाट ल्याइएको जलसमेत राखिएको छ । यो पवित्र महापोखरीमा स्नान गरी पुण्य प्राप्त गर्न भक्तजनहरुलाई आग्रह गर्दै पोखरीमा फूल, प्रसाद, र भेटी नराखीदिन सहसचिव पन्थीले अनुरोध गर्नुभयो। उहाँले भेटी दानका लागि महापोखरी प्रवेश गर्ने दुवै स्थानमा भेटी पेटिका, राखिएको र अगरबत्ती बाल्नका लागि छुट्टै स्थानको व्यवस्थापन गरिएकोले निर्धारित स्थानमा मात्र भेटी चढाउन तथा अगरबत्ती बाल्ने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो ।
रेसुङ्गा धामको दर्शनका लागि जाने भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर यज्ञशालाको प्रवेश द्वारको प्राङ्गणमा फूल, प्रसाद, माला, अगरबत्ती, तथा पुजनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहितको व्यवस्था मिलाइएको छ ।
साउन महिनामा रेसुङ्गा धाममा पुण्य लाभका लागि आउने भत्तजनहरुले आफूसँग भएका फलफूल र फूलका बिरुवाहरु यज्ञशाला प्रवेश द्वारदेखि यज्ञशाला परिसरसम्म रोपण गरी जीवनलाई सार्थकता प्रदान गर्नुका साथै प्रकृतिको संरक्षण तथा हराभराका लागि सामाजिक योगदान पुर्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।