• १९ वैशाख २०८१, बुधबार

विकासमा दलीय स्वार्थ नराख्न आग्रह

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार २२ गते । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुने विकास बजेट एउटै योजनामा नलगाउन आग्रह गर्नुभएको छ । 

मोरङको मधुमल्लामा  मिक्लाजुङ गाउँपालिकाको १२ औँ गाउँ अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । सानासाना योजनामा बजेट नछर्न सुझाव दिँदै उहाँले उत्पादन गर्ने किसान केन्द्रित कार्यक्रम ल्याएकोमा पालिकालाई धन्यवाद दिनुभयो ।

क्षेत्र विकास कोषको पुनः व्यवस्था भएको बताउँदै उहाँले स्थानीय तह, प्रदेश र सङ्घबाट प्राप्त हुने बजेटलाई व्यवस्थित ढङ्गले परिचालन गर्न सके नागरिकका आवश्यकता पूरा गर्न सकिने बताउनुभयो । 

किसानलाई सहुलियतमा ऋण दिने र किसानलाई मल बिउ र प्रविधिको व्यवस्था गर्ने राम्रो कार्यक्रम ल्याएको बताउँदै मन्त्री लिम्बूले यस्ता कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन आग्रह गर्नुभयो । विकास निर्माणका काममा दलीय वा व्यक्तिगत स्वार्थ नराखी साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

गाउँ सभामा उपाध्यक्ष दिनेश पौडेलले आर्थिक वर्ष २०८०/८१ का लागि ८१ करोड ६६ लाख ८८ हजार तीन सय रुपियाँको अनुमानित बजेट प्रस्तुत  गर्नुभयो । जसमा चालुतर्फ ४२ करोड पाँच लाख ६३ हजार ५७४ रुपियाँ र पुँजीगत खर्च ३९ करोड ६० लाख ६४ हजार ७२६ रुपियाँ अनुमान गरिएको छ । गाउँ सभा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको सभापतित्वमा सम्पन्न भएको थियो ।