सुलीकोट समाचारदाता
सुलीकोट, पुस ७ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत छेकाम्पारमा पर्यटन तथा वनपैदावर चेकपोस्ट स्थापना गरिएको छ । मनासलु संरक्षण क्षेत्र आयोजना गोरखाका अनुसार आइतबारदेखि उक्त चेकपोस्ट औपचारिक रूपमा सञ्चालनमा आएको हो । मनासलु संरक्षण क्षेत्रमा आउने पर्यटकको बढ्दो चापलाई व्यवस्थापन गर्दै पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने उद्देश्यले चेकपोस्ट स्थापना गरिएको मनासलु संरक्षण आयोजना (एम्क्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।
छेकाम्पारमा स्थापना गरिएको चेकपोस्टमार्फत पर्यटन अनुमतिपत्रको जाँच, ट्रेकिङ रुटसम्बन्धी जानकारी प्रदान, पर्यटन क्षेत्रका नियम तथा सुरक्षासम्बन्धी सूचना दिने काम गरिने उहाँले बताउनुभयो । चेकपोस्ट स्थापनापछि वन्यजन्तु तथा जडीबुटीको चोरीनिकासी नियन्त्रण तथा वनपैदावारका अवैध ओसारपसार रोक्नसमेत चेकपोस्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।