• ६ पुस २०८२, आइतबार

गोरखापत्र संस्थानका सल्लाहकारद्वय चौधरी र अधिकारीको बिदाइ

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको साथमा सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारी। संस्थानले आइतबार सल्लाहकारद्वयलाई बिदाइ गरेको हो ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, पुस ६ गते । दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नु भएको हो । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस ५ गतेको निर्णय अनुसार रामकृष्ण अधिकारी आर्थिक, व्यवस्थान र प्रिन्टिङ सल्लाहकार र सुशीला चौधरी कानुनी सल्लाहकारमा नियुक्त हुनु भएको थियो । 

महाप्रबन्धक ऐरीले संस्थान सेवामा रहँदा उहाँहरूले पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै आगामी दिनमा उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्नु भयो । उहाँले नियति र नीतिका कारणले कतिपय कार्य सोचे जस्तो हुन नसके पनि संस्थान र कर्मचारीको हितमा कार्य गर्नु भएको बताउनु भयो । 

सेवा निवृत्त आर्थिक, व्यवस्थान र प्रिन्टिङ सल्लाहकार अधिकारीले संस्थानले करार सेवामा रहेका पत्रकार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजाने प्रक्रिया सुरु गरेकोमा प्रशंसा गर्नु भयो । उहाँले संस्थानका जनशक्तिको वृत्ति विकासलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिँदै संस्थानको उज्ज्वल भविष्यको कामना गर्नु भयो ।


यसैगरी, कानुनी सल्लाहकार चौधरीले संस्थानको उत्थान र कर्मचारीको वृत्ति विकासमा संस्थानले अझ जोड दिनु पर्ने बताउँदै आफूले एक वर्षसम्म गोरखापत्र संस्थानको विपक्षमा बहस नगर्ने जानकारी दिनु भयो । 

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमसहित प्रकाशन प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, राष्ट्रिय कर्मचारी सङ्गठनका प्रमुखले सल्लाहकारद्वयको योगदानको चर्चा गर्दै उहाँहरूको भाबी जीवन सुखमय रहोस भनी कामना गर्नु भयो ।