बुटवल समाचारदाता
बुटवल, पुस ७ गते । रुपन्देहीको कञ्चन गाउँपालिका–३, धवलागिरि चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलेको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न स्थानीयले माग गरेका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । खोजतलासका क्रममा घरनजिकै रहेको नालीमा उहाँको शव बिहीबार फेला परेको थियो । प्रारम्भिक अनुसन्धानबाट ईशानको हत्या भएको आशङ्का गरी प्रहरीले छानबिन सुरु गरेको छ । ईशान तेक्वान्दोका खेलाडीसमेत हुनुहुन्थ्यो ।
स्थानीयवासीका अनुसार केही दिनअघि विद्यालयपरिसरमा एउटै युवतीको विषयलाई लिएर ईशान र उहाँका साथीबिच विवाद भएको थियो । सोही विवादकै कारण हत्या भएको हुन सक्ने आशङ्का गरिए पनि यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनास्थलवरिपरि निगरानी बढाइएको छ भने विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । उहाँले हत्यामा संलग्न दोषी पहिचान गरी छिटो पक्राउ गर्न अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो ।
मृतकका छिमेकी दीपक अधिकारीका अनुसार घटनाको दिन ईशान साँझ जिम जान घरबाट निस्कनुभएको थियो । उहाँसँगै जिमबाट बाहिर निस्केका एक जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीयका अनुसार मृतकको शव घरबाट करिब १५० मिटर दुरीमा रहेको नालीमा फालिएको अवस्थामा भेटिएको थियो । टाउकोको पछिल्लो भागमा चोट देखिएको र घटनास्थलमा धेरै रगत नदेखिएकाले अन्यत्र हत्या गरी शव नालीमा फालिएको हुन सक्ने अनुमान गरिएको छ ।