• ६ पुस २०८२, आइतबार

‘काजिनसारा ताल’ विश्वकै उचाइमा पर्ने सम्भावना

blog

काजिनसारा ताल ।

यदुप्रसाद भट्ट

मनाङ, पुस ६ गते । मनाङ जिल्लाको चामे गाउँपालिका–४, सिङ्गारखर्कमा फेला परेको नयाँ हिमताल ‘काजिनसारा ताल’ को प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ । 

स्थानीय बासिन्दा तथा गोठालाहरूले दिएका जानकारीको आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले तालको सतह समुद्र सतहबाट करिब ५,२०० मिटरमा रहेको अनुमान गरेको थियो ।

टोलीका अनुसार ताल अत्यन्तै दुर्गम, अछुतो र हिमाली भू–भागको बिचमा अवस्थित छ । कठोर मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङकै मात्र होइन, समग्र देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा पहिचान गराएको छ । यद्यपि, तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको जनाइएको छ।

नर्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको सर्वे टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताउनु भयो । तर, काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको कुरा भएको बताउनु भयो ।

स्थानीय गोठालाहरूले लामो समयदेखि सिङ्गारखर्क क्षेत्रका पहाड र चौरमा चौंरी, भेडाच्याङ्ग्रा चराउन जाँदा टाढाबाट निलो जल राशिको दृश्य देख्ने गरेको बताउँदै आएका थिए । उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले तीन वर्षअघि सुरुआत गरिएको अन्वेषणका क्रममा तालको लम्बाइ झन्डै १ किलोमिटर र चौडाइ करिब ६०० मिटर रहेको अनुमान गरिएको हो । ताल मापनका लागि भनेर तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेल हेलिकोप्टर चढेर तालको सर्वेक्षणमा जानु भएकाे थियो । तथापि, तालको गहिराइको मापन हालसम्म उपलब्ध छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिमनदीका जलस्रोतबाट बनेको उच्च हिमाली ग्लेसियर तालका रूपमा उल्लेख गरिएको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवत–जावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पारिने कार्य भएको छ । अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने पनि बताउनु भयो ।

ताल अवस्थित क्षेत्र चारैतिर प्रतिष्ठित हिमालहरूले घेरेको प्राकृतिक महत्त्व युक्त क्षेत्र हो । पूर्वमा मनासलु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक मानिन्छ । स्थानीय पर्यटन व्यवसायीहरूको भनाइमा यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वित पर्यटन सम्भावनाको रूपमा विकास गर्न सकिन्छ ।

हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाउँछ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा नपहिचानिएका उच्च हिमतालहरू भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।

गाउँपालिकाले आगामी मौसमअनुकुल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको छ । उक्त सर्वेक्षणमा भू–उपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा सम्बन्धित निकायहरूको संयुक्त सहभागिता रहने छ । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायलाई समेटेर दीर्घकालीन व्यवस्थापन योजना लागु गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।