सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस ७ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले चुनावका लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ ।
निर्वाचनका लागि सुरक्षा समिति, मतदानस्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारी भइरहेको छ । तर जिल्लाका राजनीतिक दलहरुको निर्वाचन लक्षित गतिविधि भने सुस्त गतिमा अघि बढिरहेको छ ।
चार नगरपालिका र तीन गाउँपालिका गरी सातवटा स्थानीयतह रहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का नेतृत्वमा रहेका जिल्ला सुरक्षासमिति मतदानस्थल र केन्द्रको निरीक्षण अनुगमनलाई समेत तीव्रता दिएको छ । उक्त अनुगमन टोलीले गाउँगाउँ पुगेर सुरक्षा व्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।
मतदानस्थलको अवस्था कस्तो छ, सुरक्षा व्यवस्थापन, मतपेटिकाको ढुवानी कसरी गर्ने, सम्बन्धित स्थानमा मतपत्र कसरी पुर्याउने भनेर स्थलगत अनुगमनलाई तीव्रता दिइ रहेको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी खड्काले प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देल र नेपाली सेनासहितको सुरक्षा संयन्त्र टोली मतदानस्थलको अवस्था बुझ्न गाउँगाउँ पुगेको बताउनुभयो ।
धनकुटाका प्रहरी उपीरक्षक सरतकुमार थापा क्षेत्रीले सुरक्षासंयन्त्र भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षाव्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भीड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको बताउनुभयो । तोकिएका केन्द्र अनुसार सुरक्षाकर्मी, प्रहरीको मोबाइल र रिजर्वटोली परिचालन, क्वीक रेस्पोन्स कति खटाउने भनेर अध्ययन गरिएको बताउनुभयो । यस्तै उहाँले प्रभावकारी, सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको समेत अध्ययन गरेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा ११९ मतदानस्थल तय भएका छन् । मतदानस्थलको टङ्गो लागे पनि मतदान केन्द्रको सङ्ख्यामा भने केही थपघट हुनसक्ने पाइएको छ ।
यस अघिका निर्वाचनमा धनकुटाका ११९ मतदान स्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो । तीनै निर्वाचन स्थल र केन्द्रको स्थलगत अनुगमन गरी थप सुरक्षा विश्लेषण र स्तर निर्धारण गरिने बताइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीका अनुसार कार्यालयले मतदाता नामावली अध्याबधिक, दावि विरोधको काम चलिरहेको छ । यस्तै एउटै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिने, मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको उहाँको भनाइ छ ।
आयोगले निर्वाचन तयारी सुरु तीव्र पारिरहेको बेला गाउँघरमा भने राजनीतिक दलका निर्वाचन लक्षित गतिविधि शून्य छ । दलगत भेला र उम्मेदवारको चर्चा परिचर्चा नहुँदा निर्वाचनको अनुभूतिनै नभएको स्थानीयको बुझाइ छ । निर्वाचनका लागि प्रशासनिक तयारी अघि बढेपनि दलका निर्वाचन केन्द्रित गतिविधि भने सुस्त छ ।
यता नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले भने निर्वाचनका लागि पार्टी आफ्नो तरिकाले तयारीका साथ अघि बढेको र सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । यस्तै सरकारले निर्वाचनको मिति तोके पनि तोकिएको मितिमा निर्वाचनको सम्भावना नरहेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बू बताउनुहुन्छ । अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने भन्दै नहुने निर्वाचनको अलमलमा नफस्ने अध्यक्ष आङ्लाको भनाइ छ । संसद् पुनर्स्थापना हुनुपर्ने र पुनर्स्थापित संसद्ले पछि निर्वाचन गराउने दृढता उहाँले व्यक्त गर्नुभयो ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका नेता हेमचन्द्र किराँती भने पार्टी समायोजनका कामले थोरै अलमल भए पनि आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको बताउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य दीपक गुरागाईंले १४ वटै जिल्लामा सङ्गठन विस्तार र प्रतिनिधि सभाका लागि उम्मेदवार प्रारम्भिक छनाट प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।