• ८ जेठ २०८१, मङ्गलबार

भारतलाई साफ फुटबल उपाधि

blog

साफ च्याम्पियनसिप उपाधि जितेपछि भारतका खेलाडी । तस्बिर : भारतीय फुटबल सङ्घ

काठमाडौं, असार २० गते । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । बेङ्गलोरस्थित श्री कन्तिराभा स्टेडियममा मङ्गलबार राति भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा ५–४ गोलले हरायो । 

यससँगै भारत नवौं पटक साफ च्याम्पियनसिप जित्न सफल भएको छ । भारतले यसअघि सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको थियो ।

निर्धारितन ९० मिनेट र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकर हुँदै सडनडेथबाट गरिएको हो । निर्धारित समयमा कुवेतले सुरुवाती अग्रता लिएको थियो । १४ओं मिनेटमा शबाइब अलखाल्दीले गोल गर्दै कुवेतको उत्साह जगाउनुभएको थियो । त्यसपछि ३८औं मिनेटमा भारतका लल्लियान्जुला चाङ्ग्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

त्यसपछि टाइब्रेकरमा धकेलिएको खेलमा सुरुमा ५–५ प्रहार गरिएकोमा दुवै टोलीले ४–४ गोल गरे । टाइब्रेकरमा कप्तान सुनिल क्षेत्री,  सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गर्नुभयो ।

भारतका उदान्त सिंह चुक्नुभएको थियो । कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गर्नुभयो । मोहम्मद अब्दुल्हा चुक्नुभएको थियो । 

त्यसपछि सडनडेथमा भारतका महेश सिंहले गोल गर्नुभयो । कुवेतका कप्तान खालेद अजिएहको प्रहार भारतका गोलरक्षक गुरप्रित सिंह सन्धुले रोकेपछि भारत च्याम्पियन बनेको हो । 

आमन्त्रित टोलीको रुपमा कुवेत र लेबनानसहित आठ टोली सहभागिता च्याम्पियनसिपको साविक उपविजेता नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

च्याम्पियनसिपमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ । उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर पुरस्कार पायो । उपविजेता कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।