काठमाडौँ, असोज २४ गते । नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
विश्व काराते महासङ्घको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज–१ मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्णपदक दिलाउनुभएको थियो ।
एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जित्नुभएको हो ।
उहाँले सेमिफाइनलमा हाकोभालाई ७–० ले र फाइनलमा मसाक्नीलाई २–० ले निराश पार्नुभएको थियो । एरिका कराते वान सिरिज–१ मा स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
यस्तै विश्व कराते महासङ्घको क्यालेन्डरअनुसार फ्रान्स कराते महासङ्घको आयोजनामा असोज ३१ गतेदेखि मिति २०८२ कार्तिक २ गतेसम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउने स्वनिम मानन्धर र सविना श्रेष्ठलाई बिदाइ गरिएको छ ।
प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
खेलाडीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले सम्मान तथा बिदाइ गर्नुभयो ।