काठमाडौँ, असोज २४ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई १३२ रनको चुनौती दिएको छ ।
सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४६ बलमा ६० रन जोड्नुभएको हो । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थप्नुभयो । सुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन ।
जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट हात पर्नुभयो भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिनुभयो । कसिलो बलिङ गर्नुभएका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिनुभयो ।