काठमाडौँ, असोज २४ गते । नेपाली राष्ट्रिय महिला भलिबल सिनियर र जुनियर टोलीले लगाउने जर्सीलाई इम्पेरियल सेक्युरिटिजले प्रायोजन सहयोग गरेको छ ।
जर्सी प्रायोजनसम्बन्धी सम्झौता पत्रमा शुक्रबार नेपाल भलिबल सङ्घ र इम्पेरियल सेक्युरिटिजबिच हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार इम्पेरियल सेक्युरिटीजले महिला भलिबल सिनियर र जुनियर टोलीलाई जर्सीमा प्रायोजन गर्नेछ ।
दुई वर्षका लागि गरिएको प्रायोजन वापत इम्पेरियल सेक्युरिटीजले भलिबल सङ्घलाई वार्षिक २० लाख रुपियाँ उपलब्ध गराउनेछ ।
साथै इम्पेरियल सेक्युरिटिजले वर्षको उत्कृष्ट महिला खेलाडीलाई एक लाख रुपियाँ पुरस्कारबाट पुरस्कृत समेत गर्ने छ ।
सम्झौता कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीले लगाउने सेतो र निलो रङ्गको दुई नयाँ जर्सी सार्वजनिक समेत गरिएको थियो ।