• १३ असोज २०८१, आइतबार

कम्प्युटर मर्मत गर्न स्रोत अभाव

blog

काठमाडौँ, असार १७ गते । सामुदायिक विद्यालयलाई दाताले दिएका कम्प्युटर बिग्रिएर थन्किन थालेका छन् । शिक्षामा गुणस्तर सुधार्न दिइएका कम्प्युटर मर्मत हुन सकेका छैनन् । सामान्य प्राविधिक समस्या आउँदासमेत कम्प्युटर मर्मत हुन नसक्दा विद्यार्थीले महिनौँसम्म कम्प्युटर चलाउन पाएका छैनन् । 

मर्मतका लागि स्रोतको अभाव हुँदा कतिपय विद्यालयले अभिभावकसँग अतिरिक्त रकम असुल्दै आएका छन् । कम्प्युटरका लागि उठाइएको रकमबाट विद्यालयले कम्प्युटर शिक्षकको समेत व्यवस्थापन गर्ने गरेका छन् । 

काभ्रेको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद हुमागाईंले सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराएका कम्प्युटर, ल्यापटप र प्रोजेक्टरमा समस्या आएपछि थन्क्याएर राख्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सामान्य समस्या आउँदासमेत विद्यार्थीले कम्प्युटर चलाउन नपाउने अवस्था रहेको बताउनुभयो । 

“पर्यटकीय क्षेत्रमा पर्ने यस विद्यालयलाई विदेशी पर्यटकले कम्प्युटर उपहार दिए पनि समस्या आएपछि थन्क्याएर राख्नुपरेको छ,” उहाँले भन्नुभयो । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद नेपालले बिग्रिएको कम्प्युटर बनाउने आर्थिक स्रोत विद्यालयसँग नभएको बताउनुभयो ।