• ९ मंसिर २०८१, आइतबार

स्वयम्भूको गजुर जीर्णोद्धार सुरु

blog

काठमाडौं, असार १६ गते । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरु गरिएको हो । पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो ।

काठमाडौं –१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौं उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ ।

प्राचीन सम्पदा भएकाले पुरातत्त्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्धार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो । उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा ठुलो हावाहुरीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ ।

मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनः प्रतिस्थापन गरिने जनाइएको छ । चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो । रासस