• २३ वैशाख २०८१, आइतबार

मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह

blog

काठमाडौं, असार १६ गते । मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मूलपानी मैदानको नाम क्यानका संस्थापक एवम् पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।

क्यानले शाहको सम्मानका मैदानको नामाकरण गरेको जनाएको छ । निर्माण कार्य सुरु भएको झन्डै दुई दशकपछि मूलपानीमा गत वैशाखमा एसीसी प्रिमियर कप अन्तर्गत हङकङ र सिंगापुरबीचको खेल भएको थियो । सोही खेलबाट मूलपानी मैदानले अन्तर्राष्ट्रिय मैदान र एक दिवसीय खेलको रूपमा मान्यता पाएको थियो ।

यसैगरी बैठकले क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते गर्ने, निर्वाचनका लागि साउन मसान्तसम्म जिल्ला र भदौ १० गतेसम्म प्रदेशको चुनावी अधिवेशन गर्ने, खेलाडीको वर्गीकरण र विभिन्न प्रतियोगिता सञ्चालनका लागि संयोजकसहितको समिति तोक्ने लगायत निर्णय पनि गरेको छ ।