• १२ साउन २०८१, शनिबार

सिक्किमका विद्यार्थीलाई काठमाडौंमा स्वागत

blog

काठमाडौं, असार १३ गते । मित्रराष्ट्र भारतको सिक्किम राज्य स्थित राष्ट्रिय भाषा एवं संस्कृति विद्यालय, गान्तोकका विद्यार्थीहरुलाई काठमाडौंमा स्वागत गरिएको छ । विद्यालयका प्रमुख विकास प्रधानको नेतृत्वमा नेपाल आएका २० जनाको टोलीलाई काठमाडौंको तजिलजि गुथि, नेपाःले नेवार परम्परा अनुसार सगुन दिएर स्वागत गरेको हो । 

सिक्किमका नेवार समुदायका विद्यार्थीलाई आफ्नो भाषाा, कला, संस्कृत, संस्कार र सम्पदाको पढाइ मात्रले पूर्णता नहुने भएकाले नेपालमा व्यावहारिक ज्ञान दिन नेपालमा शैक्षिक भ्रमणको आयोजना गरेको विद्यालय प्रमुख प्रधानले बताउनु भयो ।

असार १२ गते देखि ५ दिनको नेपाल भ्रमणमा रहेको टोलीलाई स्वागत गर्ने क्रममा जीवित कुमारी संस्कृति संरक्षण, संवर्धननका साथै प्रचारप्रसार गर्दै आइरहेको ह्यूमत महिला समूहसँग परिचयात्मक कार्यक्रम गरेको थियो । कार्यक्रममा समूहका अध्यक्ष मचानानी महर्जनले कुमारी संस्कृति संरक्षणमा गर्र्दैै आएको कार्यको जानकारी गराउनु भयो ।

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा अध्ययनका लागि शैक्षिक भ्रमणमा आउनुभएका विद्यार्थीहरुलाई तजिलजि गुथि, नेपाःको अध्यक्ष राजु नापितले नेवार भोजको परिकार र महत्वबारे जानकारी दिँदै नेवाः भोज खुवाइएको थियो । 

भोजको जानकारी पछि विद्यालय प्रमुख विकास प्रधानले तजिलजि गुथि, नेपाः र ह्यूमत महिला समूहलाई धन्यवाद दिंदै नेवार भोजको जानकारी विद्यार्थीहरुको लागि ठूलो उपलब्धि भएको र १० अंकको परीक्षाको लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो । 

स्वागत कार्यक्रम अघि सिक्किमबाट आएका विद्यार्थीहरुले बसन्तपुरमा रहेको जीवित कुमारीको दर्शन गरेको थिए ।

पाँच दिनको नेपाल भ्रमणमा रहेको टोलीले काठमाडौं, भक्तपुर, ललितपुरको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाको अध्ययनका साथै नेपाल लिपि गुथि र आशा सफू कुथिमा भ्रमण गर्नेछ । साथै पाटन क्याम्पस, ज्यापू संग्रहालयलगायतको क्षेत्र भ्रमण गर्नेछ ।

शैक्षिक भ्रमणको क्रममा नेपालको बसाईमा सम्पूर्ण व्यवस्था ललितपुरको ज्यापू समाजले गरेको छ ।