• १३ साउन २०८१, आइतबार

'द स्टारडस्ट ईन अस' लोकार्पण

blog

अशाेक घिमिरे

काठमाडौं, असार १३ गते । युवा प्रतिभा अनीश घिमिरेद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास 'द स्टारडस्ट ईन अस' लोकार्पण गरिएको छ । माइतीघरस्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. इन्द्र कार्की, प्रोफेसर डा. राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गर्नुभएको हो । 

प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तिको उपज भएको बताउनुहुँदै विषयवस्तु, पात्रहरूमार्फतको कथा आदीले लेखक अनीश सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गर्नुभयो । साथै उहाँले पढ्दै जाँदा अनीशको कौतूहलपूर्ण र सिर्जनशील लेखनीले आफू बाँधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनीशको कृति अब्बल भएको आफूले पाएको बताउनुभयो । 

सो अवसरमा कृतिकार अनीश घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजीव पात्रमार्फत पृथ्वीलाई मात्र हेर्ने परम्पराभन्दा फरक अर्थात् तारा समेतलाई दृष्टिगोचर गरेर आफूले दोस्रो कृति रचना गरेको जनाउनुभयो । साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफू यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबैप्रति आभार व्यक्त गर्नुहुँदै आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गर्नुभयो । 

प्रोफेसर डा. राजन प्रसाद पोखरेलले लेखक अनीश घिमिरे आफ्नो सबैभन्दा मनपर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखन विश्व स्तरको रहेको र आफूले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गर्नुभयो । 

सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर अगस्टिन थोमसले आफूले अनीशलाई विद्यार्थीका रूपमा अभूतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको बताउनुहुँदै उनको यो कृतिले शिक्षासेवी सबैले प्रेरणा लिन सक्ने बताउनुभयो । 

कार्यक्रममा युवाहरूको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको विषयमा बोल्नुभएको थियो । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा स्रष्टाहरूले गायन तथा कवितामार्फत मनोरञ्जन दिलाएका थिए । 

दुई सय ७१ पृष्ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उक्त उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरूसँगै अन्य उमेर समूहका लागि पनि पठनीय रहेको प्रकाशकको दाबी छ ।