गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । नेपाली सेनाले आयोजना गरेको लघुचलचित्र प्रतियोगिता–२०८३ मा ‘बुख्याचा’ उत्कृष्ट वृत्तचित्र घोषित भएको छ । उक्त प्रतियोगितामा सहभागी नौ वटा लघुचलचित्रमध्ये बुख्याचाले पहिलो स्थान हासिल गरेको हो । सैनिक सेवामा प्रवेश गरेसँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका सैनिक जवानले वीरगति प्राप्त गरेपछि नाबालक छोरा र श्रीमतीले भोगेको अभिभावक वियोगको घटनालाई बुख्याचामा निकै मार्मिक रूपमा देखाइएको छ ।
सुरज पराजुलीले निर्माण गर्नुभएको लघुचलचित्रमा कर्तव्यपालनाका सिलसिलामा आफू बालबच्चा र श्रीमती छाडेर हिँड्ने बेलामा अमर सैनिक र बालकले खेतमा बाली जोगाउन बुख्याचा बनाउँछन् । त्यही बुख्याचाको खल्तीमा बालकले बाबुसँग चिठी आदानप्रदानमार्फत कुराकानी गर्दै हुर्किन्छन् । बाबुवियोगको पीडा बालमनोविज्ञानमा नपरोस् भनी जोडा सैनिकले खेलेको भूमिका निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै देवशङ्कर पौडेलद्वारा निर्मित ‘अमर कर्तव्य’ दोस्रो र राम नरेशद्वारा निर्मित ‘अडान लघुचलचित्रले तेस्रो स्थान हासिल गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजिक समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उत्कृष्ट फोटोग्राफीतर्फ शार्दूलजङ्ग गुल्म पहिलो, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जङ्गल शिक्षालयले तेस्रो स्थान हासिल गरेका थिए । कार्यक्रममा सैनिक पत्रिका सिपाहीका उत्कृष्ट तीन लेखक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक–सेना र सञ्चार जगत्बिच पुलका रूपमा निर्देशनालयले काम गरिरहेको बताउनुभयो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २४ औँ स्थापना दिवसका अवसरमा नेपाली सेनाले लघुचलचित्र प्रतियोगिता, फोटो प्रतियोगिता तथा उत्कृष्ट लेख प्रतियोगिताको आयोजना गरेको हो ।