गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगर अन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रम अन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी–२०२६’ बुधबारबाट सुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आगामी दिनमा देशको नेतृत्व गर्ने युवा प्रतिभा तथा भविष्यका कर्णधारमा शिक्षा र सिपलाई जोडेर सिर्जनशील अभिव्यक्ति कला कसरी अघि बढाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर’ सुरुवाती वर्षदेखि झन् झन् राम्रो हुँदै गएको बताउनुभयो । “पाठ्यक्रम सबै एउटै हो तर विद्यार्थीको रचनात्मक क्षमता, कार्यकुशलता चाहिँ फरक छ, यस कार्यक्रममार्फत एउटा विद्यार्थीले पढ्दै गर्दा आफ्नो सोचाइ, भावना के हो भनेर थाहा पाउँछ,” उहाँले भन्नुभयो । उहाँले विद्यालय तहबाटै दिइने ललितकला शिक्षाले विद्यार्थीको सिर्जनशील, रचनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबिचको सहकार्यमा भएको यस कार्यक्रमले विद्यार्थीमा निहित सिर्जनशीलतालाई उजागर गर्न सहयोग गरेको बताउनुभयो । “भोलिका दिनमा सिकेका सिपलाई अझ बढोत्तरी गर्दै लैजानुहोला । यसलाई तपाईंहरूले भविष्यमा पेसाका रूपमा पनि अघि बढाउन सक्नुहुने छ, उहाँले भन्नुभयो ।” कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, काठमाडौँ महानगरपालिकाका वरिष्ठ सहायक अधिकृत सुशील सुवेदीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहसंयोजक केशवराज खनाल र सम्झना राजभण्डारी रहनुभएको थियो ।
प्रदर्शनीमा राखिएका श्री सहिद शुक्र मावि, विजय स्मारक मावि, पद्मकन्या विद्याश्रम मावि, भानु मावि, महेन्द्रबौद्ध मावि, नीलवाराही मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, जुद्धोदय मावि, जनकल्याण मावि, विश्व निकेतन मावि, शीतला मावि, शारदा मावि, सरस्वती निकेतन मावि, नेपाल आदर्श मावि, रत्नराज्य माविका कलाकृतिमध्येबाट उत्कृष्ट हुनुभएका क्रमशः सोनिया तामाङ, एलिसा मगर, आकृतिकुमारी चौधरी, यामिमा तामाङ, पुष्पाञ्जली कुमारी, यम मगर, सेलिना घर्तीमगर, प्रमिल खनाल, विनोद चलाउने, सुदीक्षा चौधरी थारू, कोमल विश्वकर्मा, सङ्गम कुमार, सुहसा तामाङ, अदिश बोहोरा, ईशा श्रेष्ठ, अजितकुमार, पुष्पाञ्जलीकुमारी ठकुरीलाई जनही तीन हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । प्रदर्शनी वैशाख १८ गतेसम्म चल्ने छ ।