• १६ वैशाख २०८१, आइतबार

नेपाली भाषाको शुद्धता परीक्षा हुने

blog

काठमाडौँ, असार १३ गते । प्रदेश लोक सेवा आयोग बागमतीले लिने परीक्षामा नेपाली भाषाको शुद्धता परीक्षणसम्बन्धी प्रश्न समावेश गरिएको छ ।  नेपालको संविधानले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारको कामकाजको भाषाका रूपमा गरेको व्यवस्थाका आधारमा बागमती प्रदेश लोक सेवा आयोगले त्यस्तो प्रश्न समावेश गरेको हो । यसरी नेपाली भाषाको शुद्धता परीक्षणसम्बन्धी प्रश्न समावेश गर्नेमा उक्त आयोग पहिलो रहेको जनाइएको छ ।

आयोगका अनुसार प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो र पाँचौँ तथा अधिकृतस्तरका छैटौँ, सातौँ र आठौँ तहका पाठ्यक्रममा नेपाली भाषा शुद्ध लेखन शैली राखिएको आयोगले जनाएको छ । यस अनुसार प्राविधिकतर्फ दुई अङ्क र प्रशासनतर्फ आठ अङ्कसम्मको प्रश्न सोधिने छ । निजामती सेवाका कर्मचारीले पत्र, प्रतिवेदनलगायत नेपाली भाषामा लेख्नुपर्ने लिखत लेखन शुद्ध हिसाबले लेख्न सकून् भन्ने अभिप्रायले यस्तो पाठ्यक्रम र परीक्षा प्रणाली तय गरिएको जनाइएको छ । 

यसैबिच सोही विषयमा भाषाविद्हरूसँग छलफल गर्न आयोगले हालै अन्तर्क्रिया आयोजना ग¥यो । त्यस अवसरमा लोक सेवा आयोगका सचिव राजकुमार श्रेष्ठले प्रशासनिक क्षेत्रमा नेपाली भाषाको शुद्ध प्रयोगका लागि लोक सेवा आयोगले पनि केही गर्ने बताउनुभयो । उहाँले पाठ्यपुस्तक र स्रोत सामग्रीमा सुधार गरेर नेपाली भाषालाई एकरूपता दिनुपर्ने सुझाव दिनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले भाषा अर्थ सम्प्रेषणमा महत्वपूर्ण हुने भन्दै पहिचानको कुरा त्यसमा जोडिएपछिचाहिँ विवादित बन्ने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशको विषयवस्तुमा नै गल्ती रहेकाले चाँडै नै सच्याएर नयाँ शब्दकोश प्रकाशन गर्ने जानकारी दिनुभयो । 

प्रदेश लोक सेवा आयोग बागमतीका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा संविधानले दिएको मान्यताको सम्मान गर्दै आयोगले लिने परीक्षामा नेपाली शुद्धताको परीक्षणको व्यवस्था गरिएको बताउनुभयो । तथापि शब्दकोशहरू र एपमा राखिएका शब्दको प्रविष्टिमा एकरूपता नहुँदा समस्या रहेकाले त्यसको निराकरण हुनु जरुरी भएको बताउनुभयो । 

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका प्रमुख प्राडा खगेन्द्रप्रसाद लुइंटेल र डा. प्रेमप्रसाद चौलागाईंले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।