• १३ पुस २०८१, शनिबार

बागमती प्रदेश सभामा एमाले र राप्रपाको अवरोध

blog

बागमती प्रदेशको प्रदेश सभा बैठकमा अवरोध गर्दै एमाले र राप्रपाका प्रदेश सभा सदस्य ।

राममणि दाहाल

हेटौँडा, असार १२ गते । बागमती प्रदेश सभाको बैठकमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यले अवरोध गरेका छन् ।

प्रदेश सभाको मङ्गलबारको दोस्रो बैठकमा एमाले र राप्रपाका प्रदेश सभा सदस्यले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असन्तुष्टि जनाउँदै अवरोध गरेका हुन् । बैठक सुरु भए लगत्तै विपक्षी दलका प्रदेश सभा सदस्यहरू उठेर आपत्ति जनाएका थिए ।  

प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आगामी आवको बजेटमाथि सामान्य छलफल गरियोस् प्रस्ताव राख्नुभएपछि एमाले र राप्रपाका प्रदेश सभा सदस्यले पुनः उठेर विरोध गरेका थिए। 

विरोधपछि सभामुख भुवनकुमार प्रमुख विपक्षी दल एमालेका संसदीय नेताका जगन्नाथ थपलियालाई बोल्न समय दिनुभएको थियो । नेता थपलियाले बजेटको विरोध गर्दै बजेट नसच्याएसम्म छलफल अगाडि बढ्न नसक्ने बताउनुभयो । प्रतिपक्षी दलको विरोधपछि पौने ६ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।