• ३० वैशाख २०८१, आइतबार

आइसिसी एकदिवसीय विश्वकप छनोट

नेपालले दियो नेदरल्यान्ड्सलाई एक सय ६८रनको मध्यम लक्ष्य

blog

ब्याटिङ गर्दै नेपालका गुलसन झा । तस्बिर : आइसिसी

काठमाडौं, असार ९ गते । ब्याटिङ नचलेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सलाई एक सय ६८ रनको मध्यम लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेरपहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेटको क्षतिमा एक  सय ६७ रन बनायो । टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्ड्सले कसिलो बलिङ गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७/२७, भीम सार्कीले २२, गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाउनुभयो । आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शून्य रनमा आउट हुनुभयो । 

बलिङमा नेदरल्यान्ड्सका लागेन भान वीकले तीन, विकेट लिनुभयो । विक्रमजित सिंह र बास्ले लिडेले दुई दुई तथा क्लेटोन फ्लोयड र आर्यान दत्तले एक एक विकेट लिनुभयो । 

नेपाललाई छनोटको सुपर सिक्समा स्थान  बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । नेदरल्यान्ड्सलाई हराए मात्र नेपालको सुपर सिक्स पुग्ने सम्भावना रहनेछ ।

समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाललाई अगाडि बढ्न आजको खेल जित्नुका सार्थ वेस्ट इन्डिजको खेलमा समेत नेदरल्यान्ड्स हार्नुपर्नेछ । आज पराजित भएका नेपालको सुपर सिक्स यात्रा सकिने छ ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । 

यता दुई खेल सकेको नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

नेपाललाई हराएमा नेदरल्यान्ड्स  सुपर सिक्समा पुग्नेछ । जिम्बावे जानुअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । 

नेपाल र नेदरल्यान्ड्सबीच यसअघि दुई वटा एक दिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । समूहमा नेपाल र नेदरल्यान्डको समान दुई दुई अङ्क छ ।

दुई खेलबाट वेस्ट इन्डिज र जिम्बावेले चार चार अङ्क बनाएको छ । वेस्ट इन्डिज र जिम्बावको सुपर सिक्स यात्रा लगभग तय भएको छ । वेस्ट इन्डिज र जिम्बावे पनि आजै भिड्दै छन् । तीन खेल हारेको अमेरिकाको भने सुपर सिक्स यात्रा सकिएको छ । 

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । 

सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल–११ 

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।