काठमाडौं, असार ९ गते । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपाललाई छनोटको सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । नेदरल्यान्ड्सलाई हराएमात्र नेपालको सुपर सिक्स पुग्ने सम्भावना रहनेछ ।
समूह चरणमा नेपालको अन्तिम खेल हो भने नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाललाई अगाडि बढ्न आजको खेल जित्नुका सार्थ वेस्ट इन्डिजको खेलमा समेत नेदरल्यान्ड्स हार्नुपर्नेछ । आज पराजित भएका नेपालको सुपर सिक्स यात्रा सकिने छ ।
समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
यता दुई खेल सकेको नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।
नेपाललाई हराएमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । जिम्बावे जानुअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीच यसअघि दुई वटा एक दिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । समूहमा नेपाल र नेदरल्यान्डको समान दुई दुई अङ्क छ ।
दुई खेलबाट वेस्ट इन्डिज र जिम्बावेले चार चार अङ्क बनाएको छ । वेस्ट इन्डिज र जिम्बावको सुपर सिक्स यात्रा लगभग तय भएको छ । वेस्ट इन्डिज र जिम्बावे पनि आजै भिड्दै छन् । तीन खेल हारेको अमेरिकाको भने सुपर सिक्स यात्रा सकिएको छ ।
१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।
नेदरल्यान्ड्सविरुद्ध नेपाल–११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।