• ३ पुस २०८२, बिहिबार

गोङ्गबुमा बस लैजानुपर्ने निर्णयप्रति असहमति

blog

काठमाडौँ, असार ४ गते । काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन्। एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ। 

अरनिको यातायात सेवा प्रालिका पूर्वअध्यक्ष एवं महानगरको निर्णयविरुद्ध बनेको सङ्घर्ष समितिका संयोजक केदार क्षेत्रीले कोटेश्वरपूर्वका १२ जिल्लाका यात्रुसँगै साँखु, नाङ्लेभारे र भक्तपुरका यात्रुलाई प्रत्यक्ष असर पर्ने भएकाले निर्णय सच्याउन माग गर्नुभयो। 

उहाँले उपत्यकामा दैनिक साना ठुला चार हजार यात्रुवाहक सवारी भित्रने तथा बाहिरिने भएकाले गोङ्गबु बसपार्कको क्षमता मुस्किलले ७५० वटा बस मात्र अटाउन सक्ने र त्यो क्षमताले नभ्याउने भएकाले महानगरको निर्णय व्यावहारिक नभएको स्पष्ट पार्नुभयो। बस व्यवस्थापनको नाममा गोङ्गबुमै जानुपर्ने व्यवस्थाले व्यवसायीलाई फाइदा पुग्ने भए पनि यात्रुलाई अप्ठ्यारो पर्ने उहाँले दाबी गर्नुभयो। 

उहाँले एउटा बसपार्कमा सबै यात्रुवाहक सवारीलाई थुपार्नुभन्दा पनि यात्रु ओराल्ने र उकाल्नेसँगै टिकटका लागि कोटेश्वर, चाबहिल र रत्नपार्क क्षेत्रबाट व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिनुभयो। अखिल नेपाल ट्रेड युनियन महासङ्घका राजेन्द्र शर्माले बसपार्कमा मात्रै टिकट काउन्टर हुँदा कोटेश्वर, बानेश्वर, भक्तपुर, चाबहिलदेखि उपत्यकाका धेरै स्थानका यात्रुलाई मर्का पर्ने कुरामा महानगरले ध्यान पु-याउन आवश्यक रहेको बताउनुभयो। सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसँगै तराईका जिल्लामा जान पनि भक्तपुरबाट टिकट काट्न गोङ्गबुसम्म जानुपर्ने नियम अव्यावहारिक भएको उहाँले गुनासो गर्नुभयो। उहाँले यसले बसपार्कमा गाडी छिरेबापत महानगरपालिकाले आम्दानी बढाए पनि यात्रुलाई समय र पैसाको क्षति पुग्ने बताउनुभयो। 

उहाँले कोटेश्वर पूर्वका यात्रुको अन्तिम गन्तव्य नै पुरानो बसपार्क आसपासमात्रै हुने भएकाले गोङ्गबु बसपार्कसम्म बस लिएर जाँदा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिने कुरामा महानगरले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो। 

तर बसपार्कमै जस्तो बिनाबिचौलिया काठमाडौँका केन्द्रमा तथा अनलाइनबाट टिकट काट्ने व्यवस्था भएमा त्यसले झनै राम्रो हुने कोटेश्वरका लोकेश थापाले बताउनुभयो। लामो तथा मध्यम दूरीमा यात्रा गर्ने यात्रुलाई सरल तथा विश्वसनीय टिकट उपलब्ध गराउँदै आएको दिवा तथा रात्रि बस टिकट बुकिङ सञ्चालक मजदुर सङ्गठनका रवीन कार्कीले महानगरको निर्णय तत्कालै सच्याउन अनुरोध गर्नुभयो।