• १३ असोज २०८१, आइतबार

पहिरोको जोखिममा ओखलढुङ्गा, दुई स्थानमा क्षति

blog

बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ३२ गते । 
मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।

वर्षाका कारण कार्यालय माथिबाट माटोको ढिस्को खस्दा वडा कार्यालय पुरिएको स्थानीय दिपा फुयाँले जानकारी दिनुभयो । उक्त वडा कार्यालय संरक्षणका लागि चालु आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत मेसेनरीवाल लगाइएको थियो ।

यसैगरी, जिल्लाको सिद्धिचरण नगरपालिका–११ रामबजारमा पहिरोले एक घर भत्काएको छ । स्थानीय सानुराम श्रेष्ठको काठ र जस्ताले बनेको दुई तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

पाँच लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक दासको भनाइ छ । सोही घरमा मोलुङ गाउँपालिका–४ का लक्ष्मी तामाङले सञ्चालन गर्दै आउनुभएको खाजा पसलमा समेत क्षति पुगेको छ । वर्षाले घरको मुनिबाट पहिरो गई श्रेष्ठको घर भत्किएको प्रहरीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । ओखलढुङ्गा पहिरोको उच्च जोखिम भएको जिल्ला हो ।