चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । पछिल्लो केही वर्षयता कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढ्दै गएका हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षहरुमा कञ्चनजङ्घा भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष मङ्सिर मसान्त सम्ममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष मङ्सिर मसान्त सम्ममा ९४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।
पर्यटन सहायक शेर्पाका अनुसार मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटकहरु कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने गर्दछन् । यता कञ्चनजङ्घा आधार शिविर क्षेत्रहरुमा हिउँ परेकाले स्थानीय पर्यटन तथा होटल व्यवसायी फर्किसकेका छन् । कञ्चनजङ्घा आधार शिविर लोनाकमा होटल सञ्चालन गर्दै आउनुभएका व्यवसायी तेन्जिङ सेराप शेर्पाले आधार शिविर क्षेत्रमा हिउँ परेपछि होटल बन्द गरेर गाउँ फर्केको बताउनुभयो ।
लोनाक, खम्बाचेनलगायत कञ्चनजङ्घा आधार शिविरमा होटल व्यवसाय गर्दै आएका सबै व्यवसायी फर्किसकेका शेर्पाले बताउनुभयो । यो मौसमको पर्यटन भ्रमण गर्ने गर्ने समय करिव सकिएको र आधार शिविर क्षेत्रमा बाक्लो हिउँ परेकाले मङ्सिरभित्रै सबै व्यवसायीले होटल बन्द गरेका उहाँको भनाइ छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीको मुख्य समय आव २०७७÷७८ मा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको आगमन शून्य भएपनि त्यसपछिको वर्षदेखि पर्यटक भ्रमण आउन थालेका थिए । आर्थिक वर्ष २०७८÷७९ मा २०६ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए ।
आर्थिक वर्ष २०७९-८० मा तेब्बरले बढेर ७१३ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै आव २०८०÷८१ मा एक हजार ८५ जना बिदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ । विस्तारै सडकको पहुँच विस्तार तथा पदमार्गहरु सहज बन्दै गएकाले भ्रमणमा आउने पर्यटकहरु बढ्न थालेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) बताउनुहुन्छ ।