• ३ पुस २०८२, बिहिबार

‘गोरखापत्र डिस्कोर्स’

‘विकास दशक’ घोषणा गरेर अगाडि बढौं : ऊर्जामन्त्री घिसिङ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ। तस्बिरः केशब गुरुङ

काठमाडौँ, पुस ३ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको डेभलप्मेन्ट डिकेट अर्थात् ‘विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। 

गोरखापत्र संस्थानको आयोजना तथा गोरखापत्र एकेडेमीको संयोजनमा ‘दी राइजिङ नेपाल’ ६१ वर्ष प्रवेशको अवसरमा बिहीबार ललितपुरमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

उहाँले बजेट खर्च परिचालन तथा स्रोतको सुनिनिश्चततामा विविध समस्या रहेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। 

मन्त्री घिसिङले भन्नुभयो, “बोलेर मात्र केही हुँदैन व्यवहारिक हुनुपर्छ। अब दश वर्ष डेभलप्मेन्ट डिकेट घोषणा गरेर अघि बढौं। ऐन, कानुनलाई एउटा छाता ऐनले खारेज गर्नुपर्छ। विकास गरौं अनि मात्र अगाडि बढ्छ नभए, यो बनाउन अप्ठ्यारो छ।”

उहाँले कृषि अर्थतन्त्रमा विचौलियाका कारण मल अभाव लगायत विविध समस्या हुने गरेको बताउनुभयो। 

उहाँले गम्भीर प्रश्न गर्दै भन्नुभयो, “बिचौलीयाले प्रतिकिलो ६० रुपियाँमा तोकेको धान ३० रुपियाँमा किनेर लान्छन्। तर हाम्रो धान बिक्री हुँदैन। बाहिरबाट धान आउँछ त्यो बिक्री हुन्छ। किसानले धान फलाउन मलको समयमा मल पाउँदैनन्। यी तमाम समस्याले गर्दा माग कसरी सिर्जना गर्ने ? हामीले खेती गर्ने कि खाडीमा गएर ३० हजारमा काम गर्ने ? तरकारी खेती गर्दा बिक्री हुँदैन ? हामीले नीति कस्तो बनायौँ ?” 

उहाँले आफू मन्त्री हुँदा समेत विकासका विभिन्न काम कार्यान्वयन हुन नसकेको भन्नुहुँदै यसका लागि नीतिगत समस्या रहेको भनाइ राख्नुभयो।