काठमाडौँ, चैत २५ गते । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ । बुधबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो समय बाहिर आएका समाचारप्रति आपत्ति जनाउनुभएको हो ।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफूले परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ । उहाँले भ्रामक प्रचारका पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।
हाल आफू स्वास्थ्य परीक्षणका क्रममा विदेशमा रहेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री देउवाले उपचार प्रक्रिया सम्पन्न गरी छिट्टै स्वदेश फर्किने समेत उल्लेख गर्नुभएको छ । पछिल्लो समय उहाँको बुढानीलकण्ठस्थित निवासमा भएको घटना र सम्पत्ति शुद्धीकरण अनुसन्धानका विषयमा विभिन्न टिकाटिप्पणी भएपछि देउवाको यस्तो धारणा सार्वजनिक भएको हो ।