काठमाडौँ, जेठ २४ गते । गीत/सङ्गीतको रोयल्टी सङ्कलन सम्बन्धमा सोमबार एक सम्झौता भएको छ । प्रस्तोता समाज नेपाल, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबिच सो सम्झौता भएको छ ।
प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबिच अस्पतालमा गीत/सङ्गीतको सार्वजनिक प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो । अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताउनुभयो ।
“प्रतिलिपि अधिकार ऐन २०५९ मा उल्लेख भएबमोजिम गीत/सङ्गीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेका
छौँ,” उहाँले भन्नुभयो, “अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्यदृश्य गीत/सङ्गीतको प्रसारण हुने भएकाले ती प्रसारित सामग्रीबापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।” उहाँले आगामी दिनमा समाजले पहिचान गरेको गीत/सङ्गीतको सार्वजनिक प्रयोग हुने सम्पूर्ण क्षेत्रमा सम्झौता गर्दै जाने उल्लेख गर्नुभयो । अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत/सङ्गीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी सङ्कलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।