• ६ वैशाख २०८१, बिहिबार

प्रादेशिक अस्पताल गौरमा आइसियु सेवा सुरु

blog

फाइल तस्विर ।

सञ्जय कुमार मिश्र 

गौर, जेठ २२ गते । प्रादेशिक अस्पताल गौरमा भेन्टिलेटर सहितको आइसियुसेवा सुचारु भएपछि बिरामीको स्वास्थ्य उपचारमा सहज भएको छ । अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अस्पताल व्यवस्थापन समितिको पहलमा भेन्टिलेटर सहितको तीन बेडको आइसियु सेवा सञ्चालन भएपछि स्वास्थ्य उपचारमा सहजता भएको हो ।

कोरोनाकालमै अस्पतालमा भेन्टिलेटर तथा आइसियु सेवाका उपकरणहरू उपलब्ध रहेको तथा दक्ष चिकित्सक, स्टाफ नर्स लगायत अन्य व्यवस्थाहरूलाई व्यवस्थित गरेर प्रादेशिक अस्पताल गौरमा आइसियु सेवा सञ्चालन भएपछि यहाँका बिरामीहरूलाई सहज भएको अस्पतालले जनाएको छ ।

मधेश प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा अस्पताल आफ्नै श्रोतबाट अन्य आवश्यक सामान खरिद गरी आइसियु सेवा सञ्चालन गरेको प्रादेशिक अस्पताल गौरका प्रमुख डा.मुरारी ठाकुरले बताउनुभयो । उहाँले आइसियु सेवा सञ्चालनमा आएपछि बिरामीहरूको स्वास्थ्य उपचारमा सहजता उत्पन्न भएको बताउँदै डा. ठाकुरले रेफर भएका बिरामीहरू एम्बुलेन्समै ज्यानै गुमाउनु पर्ने समस्याबाट मुक्ति पाएको बताउनुभयो ।

आइसियु सेवा सञ्चालन भएपछि अस्पतालबाट बिरामीलाई रेफर गर्ने समस्या पनि न्यून भएको डा. ठाकुरले बताउनुभयो ।

गौर प्रादेशिक अस्पतालको सेवा सुविधालाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमा आइसियु सेवा सञ्चालन गरेको तथा आउने दिनमा अस्पतालमा उपचार गराउन आउने ८० प्रतिशत बिरामीलाई उपचार गरेर घर पठाउने लक्ष्यका साथ गृहकार्य अगाडि बढाएको गौर प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीले बताउनुभयो ।