• ८ वैशाख २०८१, शनिबार

प्याराग्लाइडिङको परीक्षण सफल

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २२ गते । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्याराग्लाइडिङ सुस्त बनिरहँदा पुतलीबजार नगरपालिका -१४ सतौकोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । 

पवित्र धार्मिक स्थल सतौकोटमा बाबु एडभेन्चर क्लबले गरेको प्याराग्लाइडिङ उडान परीक्षण सफल भएसँगै यो नयाँ गन्तव्य बनेको हो । 

केही दिनदेखि पुतलीबजार नगरपालिका, चण्डीकालिका मन्दिर व्यवस्थापन समिति, सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठान र बाबु एडभेन्चर क्लबले प्याराग्लाइडिङका लागि उडान क्षेत्र निर्माणसँगै प्राविधिक पक्षका बारेमा नियमित परीक्षण गरिँदै आएको थियो ।   

क्लबका संस्थापक अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ सानुबाबु सुनुवार सहित नौ जनाले पालैपालो यहाँबाट प्याराग्लाइडिङ गरेर तोकिएको गैरिजागरमा ल्याण्ड गरेका हुन् । 

चण्डीकालिका र सतौंकोट जस्तो पवित्र स्थलबाट उडान सफल भएको बताउँदै पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले अब धार्मिक तथा पर्यटनसँगै जोडेर विकास निर्माणका कार्य अघि बढाउनु पर्ने बताउनुभयो । 

सतौकोटसँगै स्याङ्जामा ६ स्थानमा प्याराग्लाइडिङ टेक अफ साइड र ल्याण्डका लागि ९ स्थान निर्धारण भएका छन् । स्याङ्जा प्याराग्लाइडिङका लागि उपयुक्त भूगोल रहेको र अब पोखराबाट एक घण्टामा आउन सकिने स्याङ्जा नयाँ गन्तव्य बन्ने पक्का छ । 

सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक कक्षाका लागि प्याराग्लाइडिङका उडानमा पनि स्याङ्जाका स्थल निकै उपयुक्त रहेको सुनुवारको भनाइ छ । यहाँ सतौचण्डीस्थानसँगै यहाँ तत्कालीन बाइसे-चौबिसे राज्य अन्त्रगतको सतौकोट दरबार रहेको छ भने धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस स्थलमा प्याराग्लाइडिङ उडानको सफल परीक्षणले स्थानीयवासी खुसी भरिएको चण्डीकालिका सेवा सुव्यवस्था समितिका सचिव हुमनाथ ढकालले बताउनुभयो ।