ललितपुर, जेठ २२ गते । उच्च तापक्रमका कारण मौसम तातिँदै गर्दा ललितपुरवासीले केही दिनयता शीतलताको कामना गरिरहेका थिए । उनीहरूको सो कामना आइतबार पूरा भयो । ललितपुरको पाटन दरबार क्षेत्र र त्यस वरपरका स्थानीयले आइतबार दिउँसो एकछिन भए पनि शीतलता पाए, टन्टलापुर घामको तेजमा अचानक परिवर्तन भई बादल मडारिएपछि स्थानीयले शीतलताको अनुभव गरे ।
गत वर्ष यो दिन पानी नै परेको थियो, मङ्गलबजारकी एक स्थानीय वृद्धा स्मरण गर्दै हुनुहुन्थ्यो । मङ्गलबजारस्थित कृष्ण मन्दिरअगाडि तत्कालीन राजा सिद्धिनरसिंह मल्लको सिंहासन तथा पौवा प्रदर्शन र विभिन्न राग प्रस्तुत गरिने क्रममा नै मौसमले कोल्टे फेरेको थियो । सिद्धिनरसिंह मल्लले लेख्नु्भएको ‘मेघ मल्हार’ राग गाउँदा पानी पर्ने जनविश्वास रहेको छ । कात्तिक नाच संरक्षण समितिले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल पूर्णिमा (ज्या पुन्ही) को दिन पाटन दरबार क्षेत्रमा सिद्धिनरसिंह मल्लको सिंहासन प्रदर्शन गर्छ । ४०० वर्षअघि सिद्धिनरसिंह मल्लले मेघरागसहित ३२ रागको परम्परागत शास्त्रीय सङ्गीत पनि प्रस्तुत गर्ने जानकारी दिँदै समितिका सदस्य सञ्जय राजोपाध्ययले भन्नुभयो, ‘मेघ मल्हार’ गाउँदा पानी पर्ने जनविश्वास रहेको छ । यो राग गाउँदा एकछिन भए पनि पानी पर्छ । उहाँले हरेक वर्ष पानी परेको दाबी पनि गर्नुभयो ।
उहाँले पौभामा सिद्धिनरसिंहले लेख्नुभएको भजन तथा रागहरू गाउनुपर्ने नियम भएको जानकारी दिँदै ३२ राग गाउनुपर्ने बताउनुभयो । ३१ वटा राग वा आलाप छन् भने एउटा आरतीका क्रममा प्रयोग गरिन्छ । उहाँका अनुसार कृषिसँग सम्बन्धित भएकाले यो मौसममा रोपाइँको चटारो अर्थात सिनाज्याः हुन्छ । यो मौसममा वर्षा चाहिने भएकाले मेग मल्हार राग गाएर बर्सात् हुने विश्वास गरिन्छ । यो दिन वर्षकै लामो दिन भएकाले भोलि पल्टदेखि मौसम परिवर्तन हुने र गर्मी पनि बढ्ने भएकाले त्यस दिन पानी पार्ने गीत मेघ मल्हार राग गाइने कथन छ । राजोपाध्याय भन्नुहुन्छ, “सिंहासन हेर्न तथा शास्त्रीय सङ्गीत (भजन) सुन्न बिहानैदेखि विशेष चहलपहल हुन्छ ।”
सिद्धिनरसिंहले वर्षकै सबभन्दा लामो दिनका रूपमा लिइने ‘ज्या पुन्ही’ का अवसरमा पाटनको कार्तिक डबलीमा दाफा भजनसहित शास्त्रीय सङ्गीत महोत्सव आयोजना गरेको परम्परा हालसम्म कायमै छ । अन्य दिन भने सिंहासन र पौभा पाटन दरबारभित्र सुरक्षित तरिकाले राख्ने गरिन्छ । श्रीनिवास मल्लले पनि यो कार्यलाई निरन्तरता दिएर आफूले पनि सङ्गीत सुन्ने गरेको प्रमाण दिएको राजोपाध्यायको भनाइ छ । यस दिन श्रीनिवास मल्लको सिंहासन कृष्ण मन्दिरको परिसरमा प्रदर्शनका लागि राख्ने गरिन्छ । राजोपाध्यायका अनुसार मल्लकालीन समयमा ज्येष्ठ पूर्णिमाका दिन राष्ट्रिय सङ्गीत दिवस मनाउने परम्परा थियो । मल्लकालपछि राष्ट्रिय सङ्गीत दिवस मनाउन छोडिएको बताउँदै उहाँले यस वर्षबाट निरन्तरता दिइएको जानकारी दिनुभयो ।
इन्दिरा सङ्गीत महाविद्यालय, शास्त्रीय सङ्गीत समाज, नृत्य निर्देशक सङ्घ ललितपुर र यलमाया केन्द्रले संयुक्त रूपमा लामो कालखण्डपश्चात् पहिलो पटक राष्ट्रिय सङ्गीत दिवस मनाएको पनि राजोपाध्यायले जानकारी दिनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)