रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक १४ गते । सडक मानव, असहाय बालबालिका, परित्यक्त वृद्धवृद्धा र मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले बर्दिबासमा निर्माण भइरहेको ‘हाम्रो मायाको घर’ अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको निर्माण समिति अध्यक्ष शम्भु भट्टराईले जानकारी दिनुभयो ।
बर्दीबास–२ हङ्कङडाँडा नजिक निर्माणाधीन भवनबारे जानकारी दिँदै भट्टराईले भवन र क्यान्टिन गरी दुईवटा संरचनाको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्न अझ करिब एक करोड रुपियाँ आवश्यक छ । ‘केही मौज्दात रकम पनि छ, बाँकी बक्यौता उठेपछि खर्चको अभाव हुनेछैन,’ उहाँले भन्नुभयो ।
‘हाम्रो मायाको घर’ का लागि स्थानीय १५ जना दाताले डेढ करोड रुपियाँ मूल्य बराबरको साढे पाँच कठ्ठा जग्गा दान गरेका थिए । भागवत मञ्जरी राधिका दासीको प्रेरणामा बर्दिबासमा आयोजित महायज्ञमार्फत करिब १ करोड ८२ लाख ४२ हजार रुपियाँ सङ्कलन भएको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था र निकायले पनि थप सहयोग गरेपछि भवन निर्माण सुरु गरिएको थियो ।
अध्यक्ष भट्टराईका अनुसार हालसम्म भवन निर्माण र थप जग्गा खरिदमा १ करोड १८ लाख ९ हजार रुपियाँ खर्च भइसकेको छ । करिब १० लाख मौज्दात रकम छ । ८० लाख रुपैयाँ जति बक्यौता उठ्न बाँकी रहेको उहाँले बताउनुभयो ।
०८१ साल साउनमा तत्कालीन मुख्यमन्त्री सतिसकुमार सिंहले शिलान्यास गरेपछि भवन निर्माण थालिएको हो । वर्ष दिनको छोटो अवधि र कम लागतमा भएको निर्माण प्रगति आफैंमा उदाहरणीय भएको जनाइएको छ । प्रदेश सांसद शारदादेवी थापाले निर्माणाधीन ‘मायाको घर’ दान, धर्म, दया र स्नेहको प्रतिक भएको बताउँदै यो श्रम, सहयोग, इमान र मितव्ययिताको उदाहरणीय नमुना भएको उल्लेख गर्नुभयो ।
होटल तथा पर्यटन महासङ्घ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले असहाय सडक बालबालिका, वृद्धवृद्धा, मानसिक रोगी तथा परिचय गुमाएका व्यक्तिहरूलाई नयाँ जीवन र माया दिने उद्देश्यले ‘हाम्रो मायाको घर’ निर्माण भइरहेको बताउनुभयो ।
यसअघि रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष सीताराम ढुंगेलको सहकार्यमा भवन परिसरमा विभिन्न प्रजातिका ३० वटा बिरुवा रोपिएको थियो । बर्दिबासको ‘हाम्रो मायाको घर’ अब छिट्टै सडक मानवका लागि आश्रयस्थल बन्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                