राधा लुइटेल
फिदिम, कात्तिक १४ गते । फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो ।
विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद पचास हजार एक सय ७३ रुपियाँसहित पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
विजेता र उप विजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथिको आसनबाट कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगूले पुरस्कार ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभयो । यो प्रतियोगिता नेपाल तरुण दलको ७३ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                