• ८ मंसिर २०८१, शनिबार

काठमाडौंको तापक्रम ३२ डिग्री पुग्यो, अझै बढ्ने मौसमविद्को भनाइ

blog

काठमाडौं, जेठ २० गते । अहिले काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धिको क्रम जारी रहेको छ । केही दिनयता बढेको गर्मी अझै केही दिन नघट्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गर्मी अझै केही दिन बढ्ने सम्भावना छ । 

मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस छ । अझै केही दिन यो क्रम बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र तापक्रम हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ। 

 काठमाडौंमा विगतका वर्षहरुमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र तापक्रम हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ। 

उहाँले भन्नुभयो, “गत वर्षका सबैभन्दा बढी गर्मी हुने जुन महिनामा काठमाडौंको सरदर तापक्रम २९.२ डिग्री सेल्सियस थियो । यसपालि ३२ डिग्री सेल्सियस पुगेको छ । यो अझै बढ्ने क्रममै छ ।” 

उहाँका अनुसार अझै केही दिन उपत्यकाको तापक्रम बढ्ने सम्भावना रहेकाले यो बढेर ३४–३५ डिग्री सेल्सियस पुग्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग स्थापना भएपश्चात् निरन्तर तापक्रम मापन हुँदैआएकोमा काठमाडौंमा सबैभन्दा बढी तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको तथ्याङ्क छ । मौसमविद् झाका अनुसार सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 

यसवर्ष पनि काठमाडौंमा सोही हाराहारीको तापक्रम पुग्ने सम्भावना रहेको उहाँको भनाइ छ । काठमाडौंको तापक्रम बढी हुनुमा वातावरण प्रदूषण र यहाँको बाक्लो बस्ती पनि कारक रहेको उहाँले बताउनुभयो । यसवर्ष देशको सबै क्षेत्रको तापक्रम सरदरभन्दा ३ देखि ५ डिग्री सेल्सियस बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

मौसमविद् झाका अनुसार सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 

भैरहवा, सिमरालगायतका  क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको छ । गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको मौसमविद् झाले बताउनुभयो । हिजो सुदूरपश्चिम, गण्डकी र  कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।