• १७ कात्तिक २०८२, सोमबार

एन्ड्र्यु-एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको अभिव्यक्ति

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

एयर फोर्स वन, कात्तिक १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबिचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नु भएको छ । 

उहाँले उक्त घटनाका कारण बेलायती शाही परिवारप्रति ‘नराम्रो महसुस’ भएको बताउनुभयो । एयर फोर्स वनमा रहेका बेला एएफपीका पत्रकारले हालैको शाही विवादबारे प्रश्न गर्दा ट्रम्पले भन्नुभयो, “म निकै नराम्रो महसुस गर्छु । यो परिवारका लागि निकै डर लाग्दो र दुः खद अवस्था हो । वास्तवमै म उहाँहरुप्रति सहानुभूति महसुस गर्छु ।”

७९ वर्षीय ट्रम्प आफैँ पनि न्युयोर्कका धनी वित्तीय कारोबारी एपस्टिनसँगको आफ्नै सम्भावित सम्बन्धका कारण पछिल्ला महिनामा राजनीतिक दबाबमा रहँदै आउनुभएको छ । एपस्टिनको सन् २०१९ मा जेलमा रहँदै मृत्यु भएको थियो । ट्रम्पको टिप्पणी त्यस्तो समयमा आएको छ जतिबेला बेलायती सरकारले पूर्व राजकुमार एन्ड्र्युको बाँकी रहेको मानार्थ ‘भाइस-एडमिरल’पद समेत खोस्ने तयारी गरिरहेको छ । 

उहाँलाई अब औपचारिकरूपमा एन्ड्र्यु माउन्टब्याटन-विन्डसर भनेर चिनिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विगतमा बेलायती शाही परिवारप्रति बारम्बार प्रशंसा प्रकट गर्नु भएको छ । केही महिना अघि सेप्टेम्बर महिनामा राजा चाल्र्सले उहाँलाई भव्य राजकीय भ्रमणका क्रममा विन्डसर क्यासलमा राजकीय भोज, सैन्य परेड र फ्लाइओभरसहितको स्वागत गर्नु भएको थियो ।

तर यता ‘एपस्टिन फाइल’ का नामले चिनिएका कागजात पुनः सार्वजनिक भएपछि एपस्टिनसँग लामो समयको सम्बन्ध रहेका ट्रम्पको दोस्रो कार्यकाल पनि विवादको केन्द्रमा तानिएको छ । जुलाईमा ट्रम्प प्रशासनले नयाँ प्रमाण नपाइएकाले एपस्टिन सम्बन्धी थप कागजात सार्वजनिक गर्ने वा नयाँ अनुसन्धान सुरू गर्ने कुनै आवश्यकता नभएको घोषणा गरेको थियो । 

एपस्टिनले आफूले यौन मसाजका नाममा भर्ती गराएका कम उमेरका किशोरीलाई यौन तस्करीमा प्रयोग गरेको अभियोगमा जेल सजायको पर्खाइमै आत्महत्या गरेका थिए । अधिकारिहरूले उक्त मृत्यु आत्महत्या भएको पुष्टि गरे पनि यस घटनापछि ट्रम्पका समर्थकबिच अनेकौँ षड्यन्त्र सिद्धान्त फैलिएका छन्ज-सअनुसार एपस्टिनलाई उच्च-प्रोफाइल व्यक्तिको रहस्य उजागर हुन नदिन हत्या गरिएको थियो ।

ट्रम्पले भने एपस्टिनसँग कुनै प्रत्यक्ष संलग्नता नरहेको बारम्बार दोहोर्याउँदै यो विषयलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीले सिर्जना गरेको ‘पूर्ण कपट’ भनेर खारेज गर्नु भएको छ ।  पूर्व राजकुमार एन्ड्र्यु र एपस्टिनबिचको सम्बन्धले बेलायतमा ठूलो सार्वजनिक आक्रोश सिर्जना गरेको छ । यसै कारण राजा चाल्र्स तृतीयले विगत बिहीबार आफ्ना कान्छा भाइ एन्ड्र्युका सबै बाँकी शाही उपाधि र सम्मान खोस्नु भएको र उहाँलाई विन्डसर एस्टेटस्थित स्थायी निवासबाट निष्कासन गर्नु भएको थियो ।

बेलायती रक्षामन्त्री जोन हिलीले आइतबार बिबिसीसँगको अन्तर्वार्तामा भन्नुभयो, “राजाको निर्देशनअनुसार हामी अहिले उहाँको बाँकी रहेको भाइस-एडमिरलको उपाधि पनि हटाउने तयारीमा छौँ ।” एन्ड्र्युले सन् १९८२ को फकल्यान्ड युद्धमा रोयल नेभीमा हेलिकप्टर पाइलटका रूपमा सेवा गर्नु भएको थियो र त्यसका लागि सम्मानित हुनुभएको थियो । उहाँले २२ वर्षको सैन्य सेवापछि सन् २००१ मा सेवानिवृत्ति लिनुभएको थियो । सन् २०२२ मा एपस्टिनकी मुख्य अभियोगकर्ता भर्जिनिया गिफ्रेद्वारा दायर मुद्दापछि, तत्कालीन रानी स्वर्गीय एलिजाबेथ द्वितीयले पनि एन्ड्र्युका अन्य मानार्थ सैन्य उपाधि खोस्नु भएको थियो । 

गिफ्रेको दाबीअनुसार उनलाई किशोरावस्थामै तस्करी गरी एन्ड्र्युसँग तीन पटक यौन सम्बन्ध राख्न बाध्य पारिएको थियो, जसमा दुई पटक उनी केवल १७ वर्षकी थिइन् । एन्ड्र्युले भने ती सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आउनु भएको छ । यस प्रकरणले अहिले पुनः शाही परिवारमाथि नै गम्भीर चुनौती र जनआक्रोश उत्पन्न गरेको छ । रासस/एएफपी