• २३ वैशाख २०८१, आइतबार

संस्थानका सञ्चालकद्वयको स्वागत : समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता

blog

सञ्चालक सदस्यद्वय नन्दलाल तिवारी र लेखनाथ न्यौपानेको स्वागतपछि संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, सम्पादक सल्लाहकार उपेश महर्जनलगायत । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ १८ गते । गोरखापत्र संस्थानको सञ्चालक सदस्य पदमा नियुक्त हुनुभएका स्याङ्जा सिर्सेकोट –७ का नन्दलाल तिवारी र अर्घाखाँची पाणिनी–७ का लेखनाथ न्यौपानेलाई बिहीबार संस्थानमा स्वागत गरिएको छ । 

उहाँहरूलाई  मन्त्रीस्तरीय निर्णयले जेठ १७ गते संस्थानको सञ्चालक सदस्य पदमा चार वर्षका लागि नियुक्त गरेको हो । सञ्चालक सदस्यद्वय तिवारी र न्यौपानेलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत गर्नुभयो । 

सञ्चालकलाई स्वागत गर्दै कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्रले नतिजा निस्कने गरेर काम गरिरहेको र नवनियुक्त सञ्चालकद्वयले संस्थानलाई अझ उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले गोरखापत्रको सदैव राज्य, नागरिक र व्यावसायिकताको धर्मलाई पूरा गर्ने लक्ष्य लिएको बताउनुभयो । गोरखापत्रले अहिलेको आर्थिक मन्दीको समयमा पनि आम्दानी र खर्चको बाटोमा सही रूपमा हिँडिरहेको उहाँको भनाइ छ। 

अध्यक्ष सुवेदीले सबैको सहकार्यमा मात्रै स्मार्ट गोरखापत्र अभियान पूरा हुने भएकाले मन्त्रालय र संस्थानबीचको समन्वयलाई अझ सशक्त बनाउन सञ्चालक सदस्यको भूमिका विशेष रहने विश्वास व्यक्त गर्नुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई आत्मनिर्भर बनाउने मुख्य चुनौतीको विषय रहेको बताउनुभयो । उहाँले व्यावसायिक प्रतिस्पर्धा र गुणस्तरलाई बढाउँदै गोरखापत्रलाई सुधार गर्न भएका प्रयासलाई सञ्चालक सदस्यले थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

गोरखापत्रलाई थप बलियो बनाउने दायित्व पूरै टिमको रहेको उल्लेख गर्दै महाप्रबन्धक ऐरीले लामो समयदेखि पत्रकारिताको क्षेत्रमा आबद्ध रहेकै युवाको नेतृत्वमा गोरखापत्र रहेकाले पाठकले फरकपनको महसुस गरिरहेको र सञ्चालकद्वयले अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

सञ्चालक सदस्य तिवारीले एक युगको प्रतिनिधित्व गर्ने गोरखापत्रको सञ्चालक हुनु आफैँमा गौरवको विषय भएकाले पाएको जिम्मेवारीलाई पूर्ण पालना प्रतिबद्धता जनाउनु भयो। उहाँले स्थायी कर्मचारीको लामो समयदेखि रोकिएको वृत्ति विकास अगाडि बढाउन र अस्थायी कर्मचारीको सेवा विस्तारलाई पहिलो प्राथमिकतामा राख्न भूमिका खेल्ने छु भन्नुभयो। 

सञ्चालक तिवारीले कर्मचारीले यसअघि पाएको इन्टरनेट सेवा सुविधामा कटौती भएकोमा त्यसलाई व्यवस्थापनसँग समन्वय गरेर अगाडि बढाइने र गोरखापत्रका डिजिटल मञ्चलाई सशक्त ढङ्गले अगाडि बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले कर्मचारी कल्याणकारी कोषसँग सम्बन्धित समस्या सुल्झाउन, संस्थानले वितरण गर्नुपर्ने बोनस वितरणको वातावरण तयार गर्न र अनलाइन संस्करणलाई आत्मनिर्भर बनाउने विषयमा विशेष पहल लिने बताउनुभएको छ ।   

यसैगरी, सञ्चालक न्यौपानेले गोरखापत्रमा भएका समस्या समाधान गराउन मन्त्रालयसँग आवश्यक समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गोरखापत्रसँग सरकारको पनि अपेक्षासमेत रहेकाले सरकारको कार्यक्रमलाई पूरा गराउन भूमिका खेल्ने बताउनुभयो । 

यस्तै, संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले पछिल्लो समय गोरखापत्रले आफूलाई सुनको रूपमा प्रमाणित गरिसकेकाले त्यसमा सुगन्ध भर्ने जिम्मेवारीमा सञ्चालक समितिसँगै सम्पादकीय नेतृत्वमा रहेको बताउनुभयो । 

गोरखापत्रले आफूलाई थप व्यावसायिक बनाउँदै राज्यले लिएको समृद्धिको सपनालाई पूरा गराउन विशेष भूमिका निर्वाह गर्ने जिम्मेवारी हामी सबैको काँधमा आएको उहाँको भनाइ छ ।  

यो पनि पढ्नुहोस

स्वागत कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतम, प्रशासन विभागका प्रमुख ओमप्रकाश भुसालले सञ्चालक सदस्यद्वयको सफल कार्यकालको शुभकामना दिनुभयो । 

गोरखापत्र संस्थानका सञ्चालक सदस्य लेखनाथ न्यौपाने र नन्दलाल तिवारी ।