• १५ चैत २०८२, आइतबार

‘भुइँ मान्छेको आवाज संसद्सम्म पुर्‍याउँछु’

blog

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), चैत १५ गते । कैलालीको लम्कीचुहा नगरपालिका–४ का प्रेमबहादुर बयकका दुवै खुट्टाले काम गर्दैनन् । २०६१ सालमा मसुरिया बडैपुरमा भएको भिडन्तमा ४५ वर्षीय बयकको मेरुदण्डमा गोली लागेपछि उहाँ सदाका लागि आधा शरीर नचल्ने हुनुभयो । अहिले उहाँ क्यालिफर र वाकरको सहायताले हिँडडुल गर्नुहुन्छ ।

गोली लागेर आधा शरीर निष्क्रिय भए पनि बयक सधैँ राजनीति र सामाजिक कार्यमा सक्रिय नै रहनुभयो । उहाँको बलिदान र सक्रियतालाई अहिले पार्टीले न्याय गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका उहाँलाई समानुपातिकतर्फको घाइते, अपाङ्ग क्लस्टरबाट प्रतिनिधि सभा सदस्य बनाएको छ । 

उहाँ आफू भुइँ मान्छेको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा छिरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म सहिद, अपाङ्ग, घाइते, बेपत्ता परिवारको प्रतिनिधि बनेर प्रतिनिधि सभा पुगेको छु । प्रतिनिधि सभामा मेरो आवाज सधैँ भुइँ मान्छेका पक्षमा हुने छ । उहाँहरूको समस्या समाधानका लागि नीति, कानुन, ऐन बनाउन मेरो सक्रियता रहने छ ।”

उहाँले भूमिगत राजनीति गर्दादेखि किसान, उत्पीडनमा परेका समुदायको समस्या बुझेको बताउँदै विधिको शासन स्थापित गर्न, जनतालाई सेवा प्रवाहमा भेदभाव नगर्न, उद्योग, कलकारखाना सञ्चालन, सुशासन कायम राख्न र समग्र राष्ट्रको हितका लागि सदनमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवयुवाको जायज मागलाई समर्थन गर्न, जनताले बेहोरेका समस्या समाधान गर्न, शिक्षा, रोजगारी, विकासनिर्माणमा मेरो भूमिका रहने छ । भूमिहीन, दलित, सुकुमवासीलाई जग्गाधनी बनाउने कार्यमा म प्रतिबद्ध भएर लाग्ने छु ।” 

तत्कालीन माओवादी केन्द्रभित्र उहाँलाई जिउँदो सहिदका रूपमा हेरिन्छ । २०५४ सालमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०५५ सालबाट पार्टीमा सक्रिय भएका उहाँ २०५७ सालमा भूमिगत हुनुभयो ।

त्यसपछि उहाँ माओवादीको सैन्य तालिमसहित जनमिलिसिया हुँदै जनमुक्ति सेना हुनुभएको थियो । माओवादीले जनमुक्ति सेनाभित्र अर्वान सेना बनाएको थियो । त्यसको नेतृत्व गरेर उहाँले कैलाली र कञ्चनपुरमा काम गर्नुभयो । पार्टीमा स्पष्ट विचार राख्ने नेताका रूपमा उहाँ चिनिनुहुन्छ । 

उहाँ जनयुद्धमा पहिलो पटक २०५९ वैशाख २४ गते रोल्पाको गामस्थित तत्कालीन शाही नेपाली सेनाको ब्यारेक आक्रमण गर्दा पनि घाइते हुनुभएको थियो । छ वटा छर्रा अहिले पनि आफ्नो टाउकोमा रहेको उहाँले बताउनुभयो । सशस्त्र द्वन्द्वकालमा पश्चिम नेपालका म्याग्दी, रोल्पा, अछाम, अर्घाखाँची, जुम्लालगायत सबै ठाउँको भिडन्तमा आफू सहभागी भएको बताउने उहाँ २०६१ सालमा लागेको गोलीले मेरुदण्डको स्पाइनल कर्डमा चोट लागेपछि दुवै खुट्टामा असर पुगेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “उपचारका लागि देशविदेशका धेरै अस्पताल पुगेँ । भारतको अस्पतालमा उपचारकै क्रममा गिरफ्तारीमा परेँ । भारतीय प्रहरीले छ महिना अस्पतालमै नजरबन्दमा राख्यो । शान्ति सम्झौता भएपछि छुटेर नेपाल आएँ ।”

प्रवीणता प्रमाणपत्रसम्मको अध्ययन पूरा गरेका उहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि पनि निरन्तर पार्टी सङ्गठनको काममा सक्रिय रूपमा लाग्ने नेतामा पर्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा रहेर शैक्षिक क्षेत्रको सुधारलगायत सामाजिक कार्यमा पनि उहाँ सक्रिय हुनुहुन्छ । अन्याय, अत्याचारविरुद्ध २०५४ सालदेखि आवाज उठाउँदै आएका बयकले यस पटक प्रतिनिधि सभामा पुग्ने अवसर पाउनुभएको छ ।