साहित्य र आमसञ्चारको सम्बन्ध व्यापक छ । आमसञ्चार र साहित्य मात्रै भनिए पनि यस सन्दर्भमा आमसञ्चार साधन पनि मिसिन्छन् । यसो भएपछि साहित्य, आमसञ्चार र आमसञ्चार साधनबीचको सम्बन्ध, भिन्नता र परिपूरकताबारे स्पष्ट हुनुपर्छ । साहित्य निराकार अभिव्यक्ति तथा बुझाइ हो, जबकि आमसञ्चार एक प्रक्रिया हो । आमसञ्चार साधन परिभाषित, सरल र सआकार प्रविधि हो ।
आधुनिक शिक्षण सङ्कायमा आमसञ्चार तथा पत्रकारिता पढाइ हुन थालेपछि आमसञ्चार, आमसञ्चार साधन, पत्रकारिताका परिभाषा तय गर्ने र घोक्ने प्रवृत्ति बढेको छ तर यस्ता परिभाषाले यन्त्रलाई मात्र ‘सञ्चार साधन’ भनिदिए । मानिसभन्दा ठूलो ‘सञ्चार साधन’ अरू केही हुन सक्दैन भन्ने सत्यमा आमसञ्चार साधनको आधुनिक परिभाषा दिने विद्वान्ले ध्यान दिएनन् । व्यासले ऋषिमुनिलाई सुनाएका ज्ञान (सन्देश, अनुभव) नै वेद भएकाले वेदभन्दा ठूलो सन्देश र व्यासभन्दा ठूलो ‘सञ्चार साधन’ कुनै यान्त्रिक प्रबन्ध हुन सक्लान् ? अहिले आएर भनिएको छ– ‘आमसञ्चार फैलाउन प्रयोग गरिने कुनै पनि प्रविधिजन्य साधन आमसञ्चारका माध्यम हुन् ।’ यो त अति सीमित परिभाषा हो । एउटा गन्धर्व आफैँमा सञ्चार साधन हो । सञ्चारकर्मी पनि हो । प्रेषक र प्रापक पनि हो । सञ्चार प्रक्रियामा व्यक्ति स्वयम्ले साधनका रूपमा पनि काम गर्छ । राजनीतिमा कार्ल माक्र्सले मानिसलाई उत्पादनको साधन भनेका छन् । आधुनिक अर्थशास्त्रले ‘मानव संसाधन’ भनेर मानिसलाई उत्पादनको ‘साधन’ भनेको छ । यसर्थ विद्यालय तहका पुस्तकमा भनिएझैँ आमसञ्चारका साधन भनेर पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनको मात्र नाम लिइयो र मानिसलाई ‘आमसञ्चार साधन’ भनेर स्वीकार गरिएन भने आमसञ्चार र मानव महìवको बृहत् अर्थ बुझ्न सकिँदैन ।
आमसञ्चार र साहित्य
आमसञ्चार प्रक्रिया हो, साहित्य कन्टेन्ट (सामग्री) हो । साहित्यलाई विशाल अर्थमा बुझ्ने हो भने मानिसका बोलिवचन सबै साहित्य हुन् । विज्ञान, दर्शन, अर्थशास्त्र, राजनीति शास्त्र, समाज शास्त्र के होइनन् साहित्य ? चिकित्सकले बिरामी जाँचेको लिखत, प्रहरीले अपराध अनुसन्धान गर्दा तयार पारेका मुचुल्का सबै साहित्य हुन् । यस्ता असीमित क्षेत्र तथा परिभाषालाई साँगुरो पार्दै अहिले आएर सुन्दर अभिव्यक्ति, मनोरञ्जनात्मक लेख्य÷अलेख्य प्रस्तुति, समाजलाई हित गर्ने भनाइ, विचार तथा सन्देश र सिर्जनशील लेखनलाई साहित्य भन्न थालिएको छ ।
महाकवि सोमनाथ सिग्देलले सर्वसाधारणलाई मुग्घ पार्ने अभिव्यक्तिलाई साहित्य भन्नुभएको छ ।
नाटक, कविता, आख्यान (कथा-उपन्यास) र निबन्धजस्ता चार विधा र विधाभित्रका उपविधालाई मात्र साहित्य भनिएजस्तै आमसञ्चारका साधनको परिभाषा र प्रकारलाई पनि छापा र विद्युतीय गरी दुईवटा मात्र खुम्च्याउन सकिन्छ तर नेपालको सन्दर्भमा शिलालेख आमसञ्चारको सशक्त साधन हुन् भन्नुपर्छ । यस्तै शङ्ख, सारङ्गी र ढोलकलाई आमसञ्चारका भन्नुपर्छ । सञ्चार साधन र आमसञ्चार साधनमा भिन्नता देखाउने एउटा आधार प्रविधि हो भने शिलालेख, सारङ्गी, शङ्ख र ढोलकमा प्रविधि प्रयोग भएका छैनन् ? छन् भने यिनलाई आमसञ्चार साधन भन्नुपर्छ ।
यस्ता आमसञ्चार साधनबाट प्रसारित हुने सबै सन्देश वा अनुभूति हुन् साहित्य हुन् । यिनै सन्देश वा अनुभूतिलाई एक व्यतिm वा स्थानबाट अर्को व्यक्ति वा स्थानसम्म प्रसार गर्नु सञ्चार प्रक्रिया हो । यस्ता सन्देश वा अनुभूति कुनै साधनमार्फत पठाइएमा ती आमसञ्चारका साधन हुन् । आमसञ्चारका तìवहरू प्रेषक, सङ्केत, प्रतिसङ्केत, सन्देश, साधन, प्रापक र फिडब्याक (प्रतिक्रिया)बिना आमसञ्चार प्रक्रिया पूरा हुँदैन । यहाँ प्रेषक, साधन र प्रापक औजार हुन्, जसले सन्देश फौलाउन यान्त्रिक काम गर्छन् तर सङ्केत, प्रतिसङ्केत, सन्देश र फिडब्याक साहित्य हुन् जसले भाषा (सङ्केत)मार्फत विचार, प्रतिक्रिया, जनमत बनाउन सहयोग गर्छन् ।
सङ्क्षेपमा भन्नुपर्दा आमसञ्चार प्रक्रिया हो, जसले आम रूपमा उत्पादित सामग्री (सन्देश)लाई प्रविधिमार्फत ठूलो सङ्ख्याका उपभोक्ता (पाठक, दर्शक÷श्रोता)सम्म पु¥याउँछ । त्यो सामग्री भनेको ‘साहित्य’ पनि हो, आमसञ्चार साधन (प्रविधि)मार्फत जसको प्रसार हुन्छ । यति नै हो आमसञ्चार र साहित्यको सम्बन्ध तर गम्भीर रूपमा हेर्दा सञ्चार प्रक्रियामा साहित्यले सन्देशलाई मनोरञ्जनात्मक, सिर्जनशील, प्रभावी र कालजयी बनाउन सहयोग गर्छ । साहित्यले सञ्चार कला वृद्धि गर्छ, सन्देशको आयु वृद्धि गर्छ । गुणस्तर वृद्धि गर्छ । सञ्चार प्रक्रियालाई रङ्गीन बनाउँछ । ज्ञान अभिवृद्धि गर्छ । एलएसआरडब्लू अर्थात् लर्निङ (सिकाइ), स्पिकिङ (बोलाइ), रिडिङ (पठन) र राइटिङ (लेखन)ले सञ्चारलाई प्रभावी बनाउँछ । यसलाई नेपालीमा सिकाइ, बोलाइ, पढाइ र लेखाइ ‘सिबोपले’ भनौँ । यी कार्यबिना साहित्यको उठान र विस्तार हुँदैन । यी काम आमसञ्चारका साधनद्वारा गरिने भएकाले साहित्य र आमसञ्चारका साधनबीच गहिरो सम्बन्ध देखिन्छ । आमसञ्चार साधनको कार्य सूचना, शिक्षा, मनोरञ्जन प्रदान गर्नु उत्पे्ररणा बढाउनु र सामाजिकीकरण गर्नु हो भनेर जानिसकेपछि यसको कार्य साहित्य प्रवद्र्धन पनि हो भनिरहनु पर्दैन ।
आमसञ्चार साधन, आमसञ्चार र साहित्यको सम्बन्ध
आमसञ्चार साधन, आमसञ्चार र साहित्यको परिचयमा स्पष्ट भइसकेपछि यिनका कार्य र अन्तर्सम्बन्धबारे पनि स्पष्ट हुनुपर्छ । नेपालमा आमसञ्चारका परम्परागत साधनमा शिला, ताम्र, भोज ताडपत्र, तमसुक, सरकारी लिखत, शङ्ख, घण्ट, ढोलक, झ्याली, नाट्यशाला, गीत, भजनका खाल, बाजाहरू खासगरी सारङ्गी; चराहरू जस्तै परेवा, काग, कोइलीजस्ता पक्षलाई सम्झनुपर्छ । भारतबाट धार्मिक पुस्तक ल्याएर नेपालमा पढ्ने पढाइने गरिन्थ्यो । यस्ता पुस्तक, पुस्तिका, पम्प्लेट, सबैले नेपालमा सहित्यको श्रीवृद्धिमा योगदान दिँदै आए । गोर्खाभारत जीवन (१९४८), सुधासागर (वि.सं. १९५५), गोरखापत्र (१९५८) रेडियो नेपाल (विसं. २००७)पछि नेपालमा आधुनिक आमसञ्चारको युग भित्रियो भन्न सकिन्छ । सुरुमा दैनिक चार घण्टा प्रसारण सुरु गरेको रेडियो नेपालमा भजन र गीतजस्ता साहित्यिक कार्यक्रम बजाइएको थियो । आमसञ्चार साधन, आमसञ्चार र साहित्यको कार्य वा हेतु सूचना शिक्षा÷ज्ञान, मनोरञ्जन प्रदान गर्नु, उत्प्ररेणा दिनु र सामाजिकीकरणमा सहजता दिनु हो । यस कोणबाट पनि आमसञ्चार साधन, आमसञ्चार र साहित्यबीच गहिरो सम्बन्ध रहेको पुष्टि हुन्छ । सुरुमा एरिस्टोटलले सञ्चारको मोडालिटी तयार गर्दा प्रेषक, सन्देश र प्रापकजस्ता तीन तìव मात्र सञ्चार प्रक्रियामा रहन्छन् भनेका थिए । पछि आएर आधुनिक अन्य विद्वान्हरूले ‘साधन’को पनि परिकल्पना गरे । नन्लिनियर मोडल अफ कम्युनिकेसनका व्याख्याताहरूले सञ्चार प्रक्रिया पूरा हुन फिडब्याकको आवश्यकता दर्शाउँदै यसको महìव पनि व्याख्या गरे । फिडब्याक भनेकै एक प्रकारको साहित्य हो । अझ सोमनाथ सिग्देलले भनेझैँ मन्त्रमुग्ध बनाउन सकियो भने फिडब्याक अझ प्रभावकारी हुन्छ र यसले सञ्चारको गुणस्तर वृद्धि गर्छ । सञ्चारको प्रभाव, छाप र गुणस्तर वृद्धिका लागि भनाइभन्दा गीत वा उखान प्रभावी हुनुले यसलाई पुष्टि गर्छ ।
सन्देशबिना सञ्चार प्रक्रिया पूरा हुँदैन । यसरी नै प्रेषक, माध्यम, सङ्केत, प्रतिसङ्केत र प्रतिक्रिया (फिडब्याक) पनि सञ्चार पूरा गराउन आवश्यक पर्ने तìव हुन् । सङ्केत र प्रतिसङ्केत (भाषा, बोलाइ र बुझाइ, कोड÷इन्कोड) प्रत्यक्षतः साहित्य हुन् । यस अर्थमा पनि सञ्चार-आमसञ्चार र साहित्यको सम्बन्ध रहन्छ । अलिकति फरक के हो भने भाषाबिना पनि सञ्चार हुन्छ तर भाषाबिना साहित्य सहज छैन ।
आमसञ्चार, आमसञ्चार साधन, पत्रकारिता र साहित्य
व्यापक अर्थमा पत्रकारिता पनि साहित्य हो । साहित्य पनि पत्रकारिता हो । पत्रकारिता वर्तमान साहित्य हो । साहित्य विगतको पत्रकारिता हो । अर्नोल्ड म्याथुले भनेको वाक्य धेरैले दोह-याउँछन्– ‘पत्रकारिता हतारको साहित्य हो ।’ यो हतारको मात्र होइन जनसामान्यको साहित्य पनि हो । यसको प्रभाव जनसमान्यमा छिटो पर्छ र मर्छ । पत्रकारिताको आयु कम छ तर साहित्यको आयु लामो हुन्छ । आज होमरले लेखेका साहित्यको बारेमा जुन र जसरी चर्चा हुन्छ त्यसरी नै त्यसबेलाका समाचारको चर्चा हुँदैन । तत्क्षणका लागि भने समाचारको प्रभाव बिजुली चम्केजस्तो हुन्छ साहित्यको प्रभाव दियो बलेजस्तो । पत्रकारिताका कार्य पनि आमसञ्चार वा आमसञ्चारका साधन समानै छन् । यसर्थ छापा, वा विद्युतीय माध्यमबाट गरिने पत्रकारितामा साहित्यजन्य सामग्री राखिएका हुन्छन् । यसका उपभोक्ता र बजार पनि छ । साहित्यिक सामग्री नराखी सायदै कसैले आमसञ्चारको प्रयोग र पत्रकारिता गर्ने आँट गर्ला । यस सन्दर्भमा प्रकाशन, पत्रिका र पत्रकारिताबारे पनि स्पष्ट हुनुपर्छ । प्रकाशन र पत्रिका माध्यम भए । पत्रकारिता प्रक्रिया वा पेसा हो । नेपालका हरेकजसो पत्रिकाले साहित्य सामग्री राखेका हुन्छन् । साहित्यिक पत्रिका पनि छन्, जसले ‘समाचार’ नराखेर पनि आफूलाई जीवन्त बनाउन सकेका छन् तर समाचार पत्रिकाले कुनै नै कुनै रूपमा, भलै परिशिष्ट प्रकाशित गरेर पनि साहित्यिक सामग्री दिनैपर्ने हुन्छ ।
मधुपर्क, रचना, अभिव्यक्ति, शिवपुरी सन्देश, दायित्व यसैले पत्रिका कम र ‘साहित्यिक प्रकाशन’ हुन् भनेर बुझियो भने पत्रिका र प्रकाशनबीचको भिन्नता देखाउन सकिन्छ । यदि यस्तो भिन्नता हुँदैनथ्यो भने न्युज मिडिया र मिडियाबीचको भिन्नता देख्न सकिँदैन । जुन मिडिया (माध्यम÷साधन)ले समाचारलाई प्रधानता दिन्छ भने त्यो न्युज मिडिया समाचार पत्रिका हो, जस्तै गोरखापत्र । जसले समाचार नभएर अन्य सामग्री मूलतः साहित्यलाई प्रधानता दिन्छ भने मिडिया हो, जस्तो मधुपर्क । यसै सन्दर्भमा पत्रिका र प्रकाशनको भिन्नता बुझ्नुपर्छ । गोरखापत्र पत्रिका हो, मधुपर्क प्रकाशन हो भनिरहनुपर्दैन । मधुपर्कले साहित्यलाई प्रधानता दिएकाले मधुपर्क साहित्यक प्रकाशन हो ।
पत्रकारिता र साहित्यिक प्रकाशन
आमवक्ताले साहित्यक पत्रकारिता भनिरहेका सुनिन्छ । शाब्दिक अर्थमा मात्र विवाद नगर्ने हो भने पत्रकारिताले मूलतः सत्य घटनाको तथ्य÷जानकारी सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण गर्छ । यी कार्यलाई पत्रिकाको प्रक्रिया पनि भनिन्छ । साहित्यकारिता (साहित्यिक प्रकाशन)ले ‘सत्यमा आधारित’ समाचार होइन काल्पनिक सन्देश वा सामग्रीको रचना, सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण गर्छ । साधारणतया पत्रकारले समाचारको घटना रचना गर्दैन तर साहित्यकारले सिर्जनामार्फत घटनाको रचना गर्छ । साहित्य र पत्रकारिताबीच यस्ता धेरै आधारभूमि भिन्न छन् । पत्रकारिता ‘सत्य’ चट्टानमा उम्रन्छ जबकि साहित्य कल्पनाको सागर वा सगरमा फैलन्छ । यसैले पत्रकार र साहित्यकारमा ठूलो भिन्नता छ । यही भिन्नता पत्रकारिता र साहित्यकारितामा पनि हुन्छ । हामीले पत्रकारितालाई कि ‘सूर्यदेखि सूर्यमुनिसम्म’ भनेर अति व्यापक, बृहत् र असीमित परिभाषामा बुझ्नुपर्छ । यसो हो भने पत्रकारितालाई पनि ‘साहित्य’ भन्न सकिन्छ । म्याथुले भनेजस्तै । होइन भने साहित्यका चार विधा र त्यसभित्रका उपविधा मात्र साहित्य हुन् भनियो भने म्याथुको सनातनी उदाहरण दिएर पत्रकारितालाई साहित्य भन्न सकिँदैन ।
आधुनिक शिक्षाले सामान्य (जनरल) नभएर विशिष्टीकृत (स्पेसिफिक) अध्ययन क्षेत्रलाई सम्बोधन गर्छ । यस अर्थमा पत्रकारिता वा साहित्यको परिभाषा असीमित बनाउनु हुँदैन । यस्तो असीमित परिभाषाले अन्य विधाको स्वतन्त्र अस्तिìव स्वीकार गर्दैन् अर्थात् साहित्य वा पत्रकारितालाई सबैथोक भनियो भने इतिहासको अस्तिìव भेटिन्छ, मनोविज्ञान र समाजशास्त्र स्वतन्त्र विधा रहन सक्दैनन् । यसर्थ पत्रकारिता वा साहित्यलाई जनरल होइन स्पेसिफिक बनाउनुपर्छ । यति गरियो भने पत्रकारिता र साहित्य भिन्न विधा हुन् भन्ने स्पष्ट हुन्छ । पत्रकारिता र साहित्यिक प्रकाशनका भिन्नताबारे धेरै बोल्नु पर्दैन ।
‘साहित्यिक पत्रकारिता’ यो आफैँमा गलत र अस्पष्ट बुझाइ वा अवधारण हो । साहित्यिक पत्रकारिता दुई अर्थमा भनिने गरिएको पाइन्छ । एक, रोचक घिमिरे र नगेन्द्रराज शर्माले रचना र अभिव्यक्तिमार्फत ‘साहित्यिक पत्रकारिता’ गर्नुभएको छ भनिन्छ । अर्को, कसैले समाचार पत्रिका वा प्रसारण माध्यममा साहित्यलाई बिट बनाएर पत्रकारिता गरेको छ भने यसलाई पनि ‘साहित्यिक पत्रकारिता’ भनेर बुझिने गरिएको छ । विधाको स्वतन्त्र अस्तिìवका दृष्टिले यी दुवै बुझाइ गलत छन् । रोचक घिमिरे र नगेन्द्रराज शर्माले ‘पत्रकारिता’ गरिरहनु भएको छैन । उहाँहरूले साहित्यिक कर्म वा प्रकाशन गरिरहनु भएको छ । यसलाई ‘साहित्यकारिता’ भन्नुपर्छ । कसैले साहित्य प्रधान कार्यक्रम चलाएर वा पत्रिकामा साहित्यिक गतिविधिलाई ‘बिट’ बनाएर पत्रकारिता गरेको छ भने त्यो ‘साहित्यिक पत्रकारिता’ नभएर पत्रकारिताको एउटा बिट वा विषय मात्र साहित्य हो भन्नुपर्छ ।
कतिपयले छापा पत्रकारिता, विद्युतीय पत्रकारिता, अनलाइन पत्रकारिता पनि भन्छन् । खासमा यी पत्रकारिताका प्रकार होइनन् । यी त आमसञ्चार साधनका भिन्नता मात्र हुन्, जसले पत्रकारिताको स्वरूपलाई केही प्रभाव पार्छन् । विद्युतीय साधन हुन्छ, विद्युतीय पत्रकारिता हुँदैन । पत्रकारिताको परिभाषा, प्रक्रिया, मूल्य, मान्यता, आचारसंहिता कुनै पनि कोणबाट छापा पत्रकारिता र विद्युतीय पत्रकारिता भनेर भिन्नता गरिएको पाइँदैन । साधन र प्रविधिको भिन्नताले पत्रिका, रेडियो, अनलाइनमा कति लेख्ने, कसरी लेख्ने भन्ने भिन्नता हुन्छ । यो त माध्यमहरू प्रकृतिले ल्याएका लेखन र प्रस्तुतिगत भिन्नता हो । यसैका आधारमा ‘छापा पत्रकारिता, विद्युतीय पत्रकारिता’ भन्नु ‘खानु’ र ‘ज्युनार’ गर्नुजस्तै हो । सर्वसाधारण हातले भात खान्छन् । ठूलाबडा चम्चाले भुजा ज्युनार गर्छन् । चम्चा र हातको प्रयोगका आधारमा भात र भुजा, खानु र ज्युनारमा कस्तो भिन्नता देख्ने, देखाउने ? यसर्थ साहित्यिक पत्रकारिता, खोजी पत्रकारिता, अर्थ–उद्योग पत्रकारिता भन्नु पनि बौद्धिक विलाशिता हो । यिनलाई पत्रकारितामा बिट (विषय) वा आयाम भन्न सकिन्छ । यसरी बिटका आधारमा पत्रकारितालाई छुट्याउँदै जाने हो भने एक दिन खेलकुद पत्रकारिता फुटेर क्रिकेट पत्रकारिता र क्रिकेटभित्र पनि टेस्ट र एक दिवसीय क्रिकेट ‘पत्रकारिता’ बन्नेछन् । पत्रकारितामा बिट विभाजन गर्न सकिन्छ तर साहित्यमा जसरी आख्यान, निबन्ध, नाटक र कविताजस्ता विधा विभाजन गर्न मिल्दैन ।
पत्रकारिता र साहित्यिकारिता
साहित्यिक कर्मलाई पत्रकारिता भन्ने कि साहित्यकारिता ? गम्भीर छलफलको विषय बन्नुपर्छ । म्याथुले भनेझैँ पत्रकारितालाई नै ‘साहित्य’ (हतारको) भनाँै न त । पत्रकारितालाई साहित्य भन्न को को सहमत हुनुहुन्छ हात उठाऔँ न त । उमेरको हिसाबले पनि पत्रकारिताभन्दा साहित्य र साहित्यकारिता जेठो हो । पत्रकारिताभन्दा साहित्यकारिता प्रभावी र दीर्घजीवी पनि छ । पत्रकारिता र साहित्यकारिताका लक्षित वर्ग पनि भिन्न छन् । यिनको उद्देश्य (हेतु), आधारभूमि, पनि भिन्न छन् । यिनै आधारमा साहित्य÷साहित्यकारिता तथा पत्रकारितालाई एकआपसबाट छुटाउनुपर्छ । भिन्न विधा बनाउनुपर्छ । होइन भने पत्रकारिताको दलन साहित्यकारिताले स्वीकार गर्नुपर्छ ।
राजनीतिक भाषामा भन्ने हो भने यस्तो प्रवृत्तिलाई पत्रकारिताको ‘विस्तारवादी चरित्र’ भन्न सकिएला । समाजको आवश्यकतामा नयाँ नयाँ अध्ययन विधा अस्तिìवमा आउँछन् । विधाहरू विभाजित हुन्छन् । फेसन डिजाइन, हाम्रा अग्रजले कल्पना गरेका थिए र कुनै दिन, उच्च शिक्षाको एक विधा बन्नेछ ? त्यस्तै अर्थशास्त्रलाई विभाजन गर्दै विकास अध्ययन, ग्रामीण अर्थशास्त्र, व्यष्टि र समष्टि अर्थशास्त्र किन भनिएको होला भन्ने प्रश्नले पनि पत्रकारिता र साहित्यकारिता एउटै विधा होइनन् भन्ने स्पष्ट गर्छ । उत्तरआधुनिकवादले स्थापित मान्यता, मूल्य, परम्परा, नेतृत्व, केन्द्रीयता, परिभाषा, विश्वासलाई नयाँ परिवेशमा व्याख्या गर्छ । केन्द्रीयताको विघटन गर्छ र नयाँ नयाँ उपकेन्द्रको अस्तिìव देखाउँछ । पत्रकारिताको केन्द्रीयता भत्काएर ‘साहित्यकारिता’को स्वतन्त्र अस्तिìव विनिर्माण गर्ने कि ? पत्रकारिताको शासनमा साहित्यकारितालाई दमित द्वारपाले बनाउने हो गम्भीर बहस हुनुपर्छ ।
आमसञ्चार र सहित्यका चुनौती
पछिल्ला दशक आमसञ्चारका साधनको विकासले यसबाट संपे्रषित हुने सन्देशका स्वरूपमा परिवर्तन आएका छन् । यस्ता साधनबाटबाट साहित्यभन्दा सूचनाको प्रवाह तीब्र र प्रभावकारीरूपमा हुने गरेको छ । मिडिया र न्यूज मिडिया भनेर जसरी विभाजन गर्ने गरिएको छ संप्रेषित सामग्रीको आधारमा आमसञ्चार साधनलाई पनि साहित्यप्रधान र गैरसाहित्य प्रधान भनेर विभाजन गर्न सकिन्छ । साहित्यप्रधान सञ्चारसाधनको प्रभावकारिता कमजोर भएका छन् । सामाजिक सञ्जालको उपस्थितिले परम्परागत साहित्यप्रधान आमसञ्चारका साधनमा चुनौती थपिदा छन् । लामालामा रचनाका सट्टा सामाजिक सञ्जाल (माध्यम) मा गरिने घोचपेच र छोटा प्रतिक्रियात्मक रचनाको लोकप्रियता बढ्दो छ । अहिलेको अवस्थामा परम्परागत आमसञ्चारका साधनमात्र चुनौतीमा परेका छैनन्, यस्ता साधनले संपे्रषण गर्ने साहित्यिक रचना, रचनाकार, सम्पादक, पाठक, प्रकाशक वितरणका पुराना संरचना, मान्यता, रजगज आदिमा चुनौतीको चौबाटोमा छन् ।