• १३ वैशाख २०८१, बिहिबार

क्रिकेटर लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुन सकेन

blog

क्रिकेटर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, जेठ १६ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम टुङ्गो लाग्न नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शङ्कर पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ ।

वैतनिक वकिल पौडेलले भन्नुभयो, ‘‘पूर्व आदेशअनुसार नै गर्नुभनेको थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको हो । मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।’’

वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।