• ७ वैशाख २०८१, शुक्रबार

नियति संस्करण

blog

जता हेर्छु, अनौठो खालका परिदृश्य मात्रै देख्छु । पहिला पहिला त्यति घटित नभएको अवस्थासँग त्यसलाई तुलना गर्दा पूरै नयाँपनको आभास उपलब्ध छ भन्न सकिन्छ । यद्यपि पछिल्लो समय सूचकका रूपमा बारम्बार उस्तै घटनाहरूले पुनरावृत्तिको रूप लिन थालेपछि भने त्यो परिवेश नै नयाँ परिघटनाहरूको लक्षित उद्देश्यमा अलग र पृथक् स्वरूप लिएर आविष्कार हुने हदसम्म नपुग्दोरहेछ, र त्यसलाई सारमा प्रत्याभूति गरिए पनि गहिराइमा त्यसले ठोस आकार ग्रहण गर्न नै नसक्दोरहेछ । नयाँ र पुरानो भाष्यमा निरन्तर रुमल्लिरहेका परिवर्तित घटनाक्रमहरूले आउँदा दिनमा कस्तो प्रकारको समयलाई उत्पादन गर्ने हुन् र उत्पादित विवेकलाई कहाँनेर गएर छेकबार लगाउने हुन्, अहिले त्यसले निष्कर्षविहीन अवस्था बनाएको छ । एउटा कुरा मान्न सकिन्छ, हिजो पनि सबै कुरा परिस्थितिजन्यरूपमै अवस्थित भइरहेका थिए र आज पनि सोही प्रवृत्ति नै विद्यमान भइरहेको हुँदा त्यसलाई बलजफ्ती आफ्नो वशमा पार्न नसकिने हुन्छ अर्थात् त्यसले एकप्रकारले अझ भनौँ आफ्नै प्रकारको निश्चित नियति बोकेको मानिन्छ । 

आजभोलि फेसनजस्तै बनेको छ, विदेशमा पढ्न जाने कुरा । प्लस टु गर्न पाएको छैन, टिन एजमै विदेश पढ्न जाने मनस्थितिमा पुगिरहेछन् अधिकांश केटाकेटी । यसलाई प्रभाव भनौँ कि देखासिकी, कलिला मस्तिष्कहरूको समय अहिले देश छोड्ने र बाहिर जाने प्रक्रियामै व्यतीत भइरहेको छ । देशमै पढाउने कुरा नगरे पनि हुन्छ, उल्टै चिढिएर यो देशमा कहाँ छ र हाम्रो सुरक्षित भविष्य ? यहाँ बस्न नै सकिँदैन भन्दै उल्टै वादविवादमै उत्रिरहेको अवस्था हरेक घरजसोमा देख्न सकिन्छ । वादविवाद बढ्दै जाँदा कतै त्यसले केही अनिष्ट त गर्ने होइन भनेर यतिखेर अघिल्लो पुस्ता सोचमग्न भएर बस्नुपर्ने बाध्यता देखा पर्न थाल्नु नियमित आकस्मिकता बनिरहेको छ ।

पल्लो घरमा आज बिहानदेखि नै प्लस टु गरेको छोरोलाई विदेश पठाउने कि यहीँ पढाउने भन्ने विषयमा चर्काचर्की सुरु भएको छ । विवाद तीव्र बन्दै गएको देख्दा त लाग्छ त्यसले मर्ने र मार्नेसम्मको रूप लिन पुगेको छ । एकप्रकारले छिनोफानो नै हुनुपर्ने परिस्थितिजन्य आक्रोशप्रति त्यहाँ कसैको नियन्त्रण नै नभएको प्रतीत हुन्छ । 

एउटा घरको मात्रै के कुरा गर्नु, मेरै घरमा समेत त्यस्तो अवस्था घटित भइरहेछ । यहाँ नपढ्ने र विदेश पढ्ने भनेर जिद्दी गर्दा बच्चाको पढाइले निरन्तरता नपाएको वर्षदिनभन्दा बढी भइसकेको छ । त्यसले मन खिन्न मात्रै बनाएको छैन, कसरी विदेश पढाउने भनेर सोचमग्नसमेत बनाएको छ । फेरि भन्दाभन्दै विदेश पठाउन पनि त्यति सजिलो कहाँ छ र ! एकातिर ठूलो रकमको जोहो गर्नुपर्ने र अर्कोतिर अनेक प्रक्रिया पु-याएर भिसाका लागि गर्नुपर्ने तयारीसमेत विविध रूप र रङ्ग लिएर प्रकट हुँदा त्यसले शान्तिको निद्रा सुत्न नदिएको पनि महिनौँ भइसकेको छ ।

यी दुई घरहरू त केवल उदाहरण मात्रै हुन्, अहिले हरेकजासो घरमा जे पनि हुन सक्ने सम्भावनाकै कारण अनेक प्रकारका सम्झौता गर्नुपर्ने परिस्थितिको निर्माणले भयावह तस्बिर बनाउँदै गएको छ । जसले खोइ कस्तो प्रकारको भविष्य निर्धारण गर्ला, यसै भन्न सकिँदैन । 

 बच्चामा आमाले लोरी गाउँदा कति सजिलैसँग मीठो निद्रा लाग्थ्यो र भुसुक्कै निदाइन्थ्यो । आमाको काखमै निदाउन पाएको क्षण त लाग्थ्यो, संसारमा पाउनुपर्ने कुरा अब केही बाँकी रहेन । समय नयाँ–नयाँ अवतारमा परिभाषित हुँदै गयो, उमेर बढ्दै जाँदा सोचेका÷नसोचेका जिम्मेवारीहरू थपिँदै गए । अहिले न आमाले लोरी गाएर सुताउनुहुन्छ, न त्यो बालकपन सम्झिएर नै निद्रालाई त्यसरी नै बोलाउन सकिएको छ । सन्तानको सुन्दर भविष्यका लागि भन्दै आफूलाई पलपल बलि दिइरहनुपर्ने अवस्थाकै कारण थाहा छैन निद्रा कहाँ हराउन थालेको छ आजभोलि ! 

एक मन त लाग्छ, केटाकेटीहरू किन यति धेरै जिद्दी हुन्छन् होला । अग्रजले भनेको सुन्दै नसुन्ने पनि कहीँ हुन्छ ? हाम्रो पालामा त उठ् भने उठ्, बस् भने बस् हुन्थ्यो । गल्ती गर्दा थरथर काँपेर सजायको लागि तयार भइहाल्नुपथ्र्यो, तयार भइएन भने अझ ठूलो सजाय पाइन्थ्यो । साँच्चै नै कति आज्ञाकारी थियो हाम्रो पुस्ता । जे भनियो त्यही मान्नुपथ्र्यो नत्र अर्को कुनै उपाय थिएन । सजायका लागि कुटाइ यसरी खाइन्थ्यो कि दिउँसै तारा देख्न बाध्य भइन्थ्यो । 

अहिले त बाबु तिमीले यो गल्ती ग¥यौ वा नानु तिमीले यस्तो गर्न हुँदैन भन्नै हुँदैन, नत्र तुरुन्तै जवाफ हाजिर भइहाल्छ– यो गल्ती होइन, यो हाम्रो स्टायल हो, तपाईंको पुस्ता हौँ र हामी ? उनीहरू बुझ्नै चाहँदैनन् कि गल्तीलाई अनेक रूप र नाम दिनु पनि अर्को प्रकारको गल्ती हो । अझ केटाकेटीले केही नराम्रो काम गर्दा झुक्किएर एक थप्पड मात्रै हानियो भने त उत्पातै हुन्छ । तपाईंलाई पिट्ने अधिकार कसले दियो ? भन्दै उल्टै जाइलाग्न सक्ने खतरा प्रबल बन्छ । बाबुआमा हुँदैमा पिट्ने अधिकार हुन्छ ? यो सरासर बालअधिकारको हनन हो, उजुरी गर्न सकिन्छ भन्दै उल्टै धम्कीपूर्ण भाषा पो सुन्नुपर्छ । अकल्पनीय परिस्थिति बन्दै गएको बेला यस्तो लाग्छ अभिभावक भनेको त कुनै दन्त्यकथाको नायक हो, जसलाई अहिले विशेषरूपमा त्यतिबेलाको प्रसङ्गसहित स्मरण गर्नुपर्ने हुन्छ । जसका लागि घामपानी, सुखदुःख केही नभनी जीवनका धेरै वर्ष त्याग गरियो, आज उनैले अपमानित र लाञ्छित गर्दा पनि मूकदर्शक भएर बस्नुपरेको छ । हाम्रो पुस्ता अभिशप्तरूपमा श्रापित पुस्तामा रूपान्तरण हुँदै गएको यिनै आँखाले टुलुटुलु हेर्नु परिरहेको छ, मानौँ केही गर्न नसकिने नियति हाम्रो जीवनको अभिन्न हिस्साका रूपमा स्थापित छ ।  

समय पहिलाको तुलनामा निकै बदलिएको भनिएको छ, त्यो बदलिनु पनि एकप्रकारले प्रवृत्तिकै रूपधारण गरिरहेको अनुभूत हुन्छ । तर यसरी समय बदलिएला र आफूले जन्माएका सन्तानबाट समेत यस्ता–यस्ता कुरा सुन्नुपर्ला भनेर न कहिल्यै सोच्न सकियो, न कहिल्यै कल्पना नै गरियो । लाग्छ, जीवनको अन्त्य नभइन्जेल अनेक रूपरङ्गका अवयवहरूसँग यसरी नै साक्षात्कार गरिरहनु हाम्रो बाँकी कार्यदिशा हो र बचेका दिनहरूमा तिनैलाई निर्वाह गर्दै जानु हाम्रो महान् उद्देश्य हो । 

‘कति मोबाइल मात्रै चलाएको ? आँखालाई पनि त आराम चाहिन्छ’ भन्नु ठूलै गल्ती गरेझैँ प्रतीत हुन्छ । ‘तपाईंलाई के थाहा छ र ! सबै कुरा मोबाइलमै छ, त्योबिना जीवनलाई सोच्न पनि सकिन्न’ भनेर कडा जवाफ कतिखेर आउँछ भनेर तयार भएर बस्नुपर्छ । 

कुनै कुरा पनि निकैबेर सोचेर मात्रै प्रकट गर्नुपर्ने स्थिति यस रूपमा कसरी दिनानुदिन सिर्जित भइरहेछ, केले यस्तो अवस्थालाई निर्माण गर्न कारक रह्यो ? केही कुराप्रतिको जिज्ञासा, चिन्तन र समाधान त जीवनको विशेष हिस्सा नै हुनुपर्ने थियो । केवल समाधान मात्रैको खोजीले समस्याहरूको पहिचान नै गर्न सकिएन भने एकपछि अर्को अनुभव कसरी हासिल गर्दै जाने ? जीवनका लागि अनुभव त ठूलो शिक्षा हुनुपर्ने थियो, अनुभव प्राप्तिलाई नै त्यागेर उपलब्धिका निम्ति तीव्र गतिमा हुइँकिन खोज्ने अभ्यास दुर्घटनाको कारक नहोला भन्ने छैन ।

हाम्रो समयमा अग्रज पुस्ताका कति अर्ती र उपदेशहरू सुनिन्थ्यो र मनन गरिन्थ्यो । नैतिकता र संस्कारका कुरा त कण्ठस्थजस्तै बनाउनुपथ्र्यो । सुन्दासुन्दैको क्षणमा उत्तिखेरै प्रश्नको झटारो कतिखेर आउँथ्यो, थाहा नै नहुने । त्यस अर्थमा पनि ध्यान दिएर सुनिएन भने उत्तर दिन नसक्दा पिटाइ खानुभन्दा अर्को विकल्प थिएन । त्यो बेला आदर्श नायकहरूका महान् कथाहरू सुनिएन कि, इतिहासले समेत सुरक्षित गरेका गाथाहरूलाई गहिरो ढङ्गले रटान नै लगाइएन कि, के–केसम्म गरिएन ! के गर्नु, अहिले पनि आफूले उतिबेला जीवनमा अमूल्य ठानेर सङ्ग्रहित गरेका दस्तावेजहरू घरीघरी आफूसामु देखा पर्न छोड्दैनन् । तिनै अनुभवले दिएका मूल तìवहरूलाई केलाएर र निफनेर सन्तानलाई मार्गदर्शन गर्न सहज बन्लान् भन्ने सोचिन्छ । 

आफूले जानेकै कुरा बच्चाहरूसँग बाँड्न पाउँदा मन त्यसै पनि प्रफुल्लित हुँदो हो, तर त्यसलाई अवसरका रूपमा लिएर महसुस गर्ने कसले हो ! अहिले त मुखबाट त्यस्ता कुरा फुत्कन पाएको छैन, आफ्नै सन्तानले नै त्यसलाई किचकिचको रूपमा अथ्र्याउँदा मन त्यसै पनि भरङ्ग भइहाल्दोरहेछ । बाबु, यसो गर । नानी, यसो गर भन्न पनि नपाइने । उताबाट ‘फेरि त्यही थोत्रा कुरा ? समय कहाँबाट कहाँ पुगिसक्यो उही पुराना कुरा सुन्नुपर्छ, दिमाग खराब भइसक्यो, घर छोडेर हिडौँजस्तो लाग्छ’ भनेर प्रतिवाद हुनथाल्छ । 

आफूले जन्म दिएका छोराछोरीप्रति अडिलो प्रकारको आशा र भरोसा हुनु अस्वाभाविक होइन । बाबुआमाभन्दा धेरै माथि पुगेर उनीहरूको उन्नति, प्रगति देख्न पाइयोस् भनेर रातदिन प्रार्थना गरिएको हुन्छ । बिहानदेखि बेलुकीसम्मको चिन्तनमननमै उनीहरूलाई नै केन्द्रबिन्दु मानेर विचारलाई सङ्केन्द्रित गरिन्छ । कुनै पनि अवसरबाट उनीहरू वञ्चित नहोऊन् भनेर जीवनमा आजसम्म के–के गरिएन ? पहिला पहिला भन्ने गरिएको हुन्थ्यो– ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर । त्यसको ठाउँमा आजभोलि ‘सन्तानले शिखर चुम्दै सफलताको लक्ष्य हासिल गरून्’ भन्ने कथनले काम गर्न थालेको छ । विशुद्ध मन र भावनालाई साक्षी राखेर कैयौँ कुरा यसरी नै प्रकट गरिन्छ, त्यही पनि सन्तानलाई नपच्ने अवस्था छ । अब के भनेर मन हल्का बनाउने सोच्न नै नसकिने भएको छ । अर्ती र उपदेश ताली मान्नुपर्ने ठाउँमा बेइज्जती र गाली हुन थालेपछि बाँकी भन्नुपर्ने कुराको खासै सार के नै बाँकी रहला र !

‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेर बूढापाकाले त्यसै भनेका होइन रहेछन् । जतिजति समय नयाँ आएको भनिएको छ उतिउति यो सधैँ जीवन्त लाग्ने सदाबहार उखानले झन्झन् सार्थकता पाउँदै गएको छ । पहिलाका अग्रज पुस्तालाई यस अर्थमा पनि दूरदर्शी मान्नुपर्छ कि उनीहरूले अहिलेको समयसमेत त्यतिबेला देख्न भ्याइसकेका थिए । अनुभवले सबै कुरा छर्लङ्ग्याउँछ भनेर त्यसै भनिएको हो र ?  

पहिलाका कुरा गरेर के साध्य छ र, कम्ती दुःखले त पढिएन । कहिले टुकीमा मट्टीतेल नहुँदा छिमेकीको घरमा भोलि ल्याएर दिऊँला है भनेर उधारो माग्न गएको स्मरणमा अझै पनि ताजै छ । जतिबेला पहिला पढेका कुरालाई सम्झना गर्दै बस्नुपथ्र्यो त्यतिबेला कहिले कक्षामा पिटाइ खाने डरले भोलि भन्नुपर्ने पाठ रातभर जागा बसेर भए पनि कण्ठस्थ नै बनाइयो । गाउँमा त्यतिबेला दुर्लभ रहेको टेलिभिजन र मोटरसाइकल हेर्न घुइँचो नै लाग्थ्यो, सम्पन्नकहाँ मात्रै हुने त्यस्ता साधन छुन वा हेर्न पनि अनुमति नै चाहिन्थ्यो । 

आजभोलि त के छैन र ? घर–घरजस्तोमा सुखसुविधाका ती तमाम साधनको उपलब्धता मात्रै नभएर एक क्लिकमै संसार भ्रमण गर्न सकिने र मिल्ने नयाँ–नयाँ उत्पादनहरूको बोलबाला चर्को रूपमा अवस्थित छ । प्रायः बाबुआमाले आफ्ना सन्तान अरूका भन्दा कत्ति पनि कम नहू्न् भनेर ऋणधन गरेरै भए पनि महँगा स्कुल÷कलेजमा पढाएका छन् । कुनै पनि सुखसुविधाबाट सन्तान वञ्चित नहून् भनेर आफूलाई बलि चढाएरै भए पनि उनीहरूले खोजेजति सबै उपलब्ध गराएकै छन् । त्यसका बाबजुद पनि सन्तानकै आँखामा वक्रदृष्टिमा पर्न बाध्य भइरहँदा न्याय खोज्न जाने ठाउँकै चरम अभाव देखिँदै छ । मानौँ, बाबुआमा हुनु नै एकप्रकारको अभिशाप हो र श्रापित बनिरहनु उनीहरूका नियमित नियति !

आफूभन्दा अग्रज पुस्तालाई आदर र सम्मान गरेको हाम्रो पुस्ताले पछिल्लो पुस्ताले पनि उसरी नै अघिल्लो पुस्तालाई आदर र सम्मान गरोस् भन्ने चाहनु अनर्थ अवश्य होइन । निरन्तर हृदयको पुकारका रूपमा परिभाषित भइरहेको स्थिति त्यतिबेला थप जटिल मोडमा देखा पर्न थालिसक्छ जतिबेला त्यसको अस्तित्वमै बलशाली प्रहार भइरहेको हुन्छ । 

अहिले अलिकति कमाउनेबित्तिकै पखेँटा लगाएर उड्ने प्रचलन विकसित हुँदै गएको छ । कमाएरै पनि सँगै बस्न र बाँच्न सकिन्छ भन्ने मान्यता नै यतिबेला ध्वस्तजस्तै छ । त्यसले अतिशयोक्तिको खेतीलाई मलजल गरिरहेको छ भनेर विवाद गर्न नसकिने होइन तर उनीहरूका पक्षबाट दिग्दर्शित सत्य लज्जास्पद अवस्थाको प्रकटीकरण हुन मान्दैन । जीवन हो, जहाँ र जसरी पनि बाँच्न सकिन्छ भन्ने स्वतन्त्रतारूपी चिन्तन शक्तिशाली बन्दै गएको परिप्रेक्ष्यमा अहिले विदेशको हावाले अतिरञ्जित रूपमा छोइरहनुलाई कुनै आश्चर्य लाग्ने विषयका रूपमा व्याख्या र विश्लेषण नगरे पनि हुन्छ भन्ने सोच हाबी भइरहेको पनि छ । यता हे¥यो उस्तै दृश्यहरू छ्न्, उता हे¥यो उस्तै घटनाहरू घटित भइरहेका छन् । ककसलाई बाँधेर राख्न सकिन्छ र ! सुविधाको उपलब्धताको कारणले संसार नै एक प्रकारले भूमण्डलीकृत भइरहेछ । प्रभाव र दबाब उस्तै प्रकारले मञ्चन भइरहँदा मै हुँ भन्नेहरूको दिमागले पनि राम्रोसँग काम गरिरहेको देख्न सकिन्न ।  

कोहीभन्दा कोही कम नहुने दौडमा पछिल्लो पुस्ताको सक्रियता निकै बढिरहेको बेलामा पनि अघिल्लो पुस्ताकोे जीवनचर्या भने यतिबेला सबैभन्दा बढी खल्बलिएको छ । एउटा ठूलो हिस्सा नै मानौँ दलदलमा भासिँदै गएको प्रतीत हुन्छ । मृत्युलाई प्राप्त नभएसम्म जीवनले ठोस निष्कर्ष प्राप्त गर्दैन भन्ने मान्यता शक्तिशाली छ, यद्यपि त्यस अवस्थालाई कुरेर बस्न त्यति सम्भव हुने कुरा पनि भएन । बाँचुन्जेल गरिएको कर्मले जीवनलाई उद्भाषित गरिहाल्छ कि भन्ने लोकप्रिय विश्वास त्यसै तोड्ने र खेर फाल्ने कुरा पनि रहेन । न यताको न उताको पेण्डुलमजस्तो जीवनको यो अनवरत सङ्घर्षमय पाटोले के साँच्चै नै कुनै पनि प्रकारको निष्कर्ष प्राप्त गर्न सम्भव होला ? के अब पनि कुनै उद्घाटित हुन बाँकी रहेको सत्यले अवतरितरूपमा आफूलाई प्रकट गरेर शङ्काको लाभ लिनसक्ने मौसमलाई ऋतुकालीन स्वरूपमा संयोजन गर्न सफलता हासिल गर्ला ?