• ९ मंसिर २०८१, आइतबार

अब मलाई गाउँ जानुछ !

blog

धेरै वर्ष भयो सहर पसेको

र सहर आफैँले पनि 

धेरै कुरा सिकाएको छ मलाई ।


आँशुमा आशा खोज्न सिकाएको छ, 

घृणामा माया खोज्न सिकाएको छ 

मृत्युको डिलमै पुगेर बाँच्न सिकाएको छ

र जिन्दगी आफैँले सिकाएको छ–

बाँच्नु पहिलो सर्त हो जिन्दगीका लागि ।


जानु छ, 

मैले सिकेका सबै सीप 

र सिर्जना लिएर गाउँ जानुछ ।


सहरले मलाई

हारहरूको चिहान उघारेर 

गुलाब रोप्न सिकाएको छ ।


अक्षर सिकाएको छ, चेतना सिकाएको छ 

बदला होइन, क्षमा सिकाएको छ

हृदय सिकाएको छ 

र हरेक दुःख सहेर हरियो हाँस्न सिकाएको छ ।


सहरले दिएको 

ज्ञानको आकार र अन्तरको अनुभूति लिएर 

अब मलाई गाउँ जानुछ  

र भुक्तान गर्नुछ 

साहुका ऋणजस्ता लाग्ने गाउँका सबैसबै कथाहरू !


स्कुलमा सबैलाई पुग्ने बेन्ची थिएन

बेन्चीबाट मलाई दिनहुँ फुत्तफुत्त फाल्ने साथीलाई भेट्नुछ

एउटा कर्ची किन्दिनुछ र भन्नु छ–

तिरस्कार बुझेपछि 

प्रेमको मूल्य बुझ्न सजिलो हुनेरहेछ, साथी । 


गरिबको हुर्मत दिने 

ब्याजी साहुलाई गुलाबको एउटा बिरुवा दिएर भन्नुछ–

दाजै 

यो गुलाब हुर्काऊ 

र निर्दोषीलाई दोषी करार गरेर कसैलाई कुट्नु परे 

यसैले कुट !


एउटा निर्दोष 

तिम्रो आँगनमा दोषी भएको नदेखेको भए त

म कसरी बुझ्थेँ र सत् र असत्को मूल अर्थ ?


मेरो खेतको 

सिमाना च्यापी च्यापी मरेकाहरूको सम्झनामा 

एउटा सालिक बनाइदिनुछ उसकै घरछेउ 

र तिनका सन्तानलाई भन्नुछ– 

जीवनभर लुटेको माटो यहीँ छोडेर 

तिम्रो बा खाली हात गएको नदेखेको भए

कसरी थाहा हुन्थ्यो र 

गरिबको आँगनमा किला ठोकेर साहु हुनेको पापकर्म !


राति सुटुक्क खोरखोरमा छिरेर 

खसीबाख्रालाई विष खुवाइदिनेहरूलाई 

एउटा एउटा खोर बनाइदिनुछ, 

एउटा एउटा पाठी दिनुछ बाख्राको

र भन्नु छ– 

खसी मरेपछि आमा रुनुभएको देखेरै हो मैले 

आँसुको मूल्य बुझेको

बाख्राका यी पाठाहरू राम्ररी हुर्काउनू 

र नडराउनू म तिम्रो खोरको बाख्रा मार्न 

कहिल्यै आउने छैन ।

खरबारीमा आगो लगाइदिनेहरूलाई

पोखरी खन्न सिकाउनु छ र भन्नु छ–

मेरो पुछार गरामा तिम्ले खेती गरे हुन्छ 

माटो कसैको हुन्न, बाटो कसैको हुन्न

मरेपछि आफ्नै भनिएको माटो कुल्चिएर हिँड्न पनि पाइन्न ।


सम्पत्ति भन्नु त

एक पेट खानु र एक हर लाउनुको सीमासम्म न हो ।


हिलो छ्यापेकी निर्मायाले हिलो हैन दिल फ्याँकेकी रैछे

माफ गर निर्माया

हिलोको सुगन्धमा प्रेम चुमेर यतै हराएको भए त

शरीरभोग बुझ्ने रहेछु, प्रेम र जीवन नबुझ्ने रहेछु 

लाऊ राख 

मेरो दिल मिसिएको यो जाली रुमाल ।


अन्तरी वनमा जानुछ

र पूर्णिमालाई भन्नुछ–

अब हिजोजस्तो लोभी नभन्नू 

पुरै बट्टा देउराली चुरोट ल्याएदिएको छु

उस्तैउस्तै त रहेछ ः

चुरोटको धुवाँ र स्मृतिको आगोमा जीवनको धुवाँ ।


यसरी जाँदा

रामुलाई लगिदिनुछ, एउटा मादल र भन्नु छ–

साथी हिजो मादल फुटेर तिमी रुँदा रुन सकिनँ

मादलबिना देउसी रोयो

असारे रोयो

सोरठी, घाटु, म्हेन्दो माया र नयाँ वर्षको शुभकामना रोयो

मेरो बा मलाई नाचगानमा जान दिनुहुन्थेन

मादल फुटेपछि तिम्रा बाले छेक्नुभएथ्यो तिम्रो बाटो ।


यसरी बेलाबेला दैलैमा पाइला नछेकिएको भए त

बाटामा हिँड्नुको मजा कसरी थाहा हुन्थ्यो र ?


गाउँ पुगेँ,

तर गाउँका कोही बाँकी रहेनछन् गाउँमा

गाउँ रित्तिएछ, गाउँ एक्लिएछ

ढलेछ पीपल वृक्ष र सुकेछ धारापानी

कोइलीले पनि गाउन छोडेछ र नाच्न छोडेछ जुरेली 

भत्किएको दमैचौतारामा उभिएर सोच्दैछु आज–


केही त भएकै हो,

म गाउँ आउन ढिलो भएको हो कि

गाउँ सहर जान छिटो भएको हो ?