अन्तर्राष्ट्रिय व्यापारमा नेपालको अवस्था राम्रो छैन । व्यापारको झन्डै ९० प्रतिशत आयातले नै ओगटेको छ । निर्यातको अंश १० प्रतिशत पुग्न पनि कठिन छ । यसले नेपालको व्यापार घाटा चुलिएर गएको छ । विदेशबाट आयात उच्च भएपछि देशको धन बाहिर जान्छ । आय, उत्पादन र रोजगोरीमा योगदान पुग्दैन । चालु आर्थिक वर्षका १० महिना अर्थात् साउनदेखि वैशाखसम्म नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँमा सीमित भएको छ । समग्र निर्यात यसरी घट्दा पनि अलैँची, अदुवा र चियाको निर्यात भने बढेको देखिएको छ । यसले हाम्रो निर्यात सम्भावना स्पष्ट गरेको छ । उत्पादन र व्यापार रणनीति ठिक भए भोलि उज्यालो दिन छ है भन्ने सङ्केत गर्नु सकारात्मक पक्ष हो ।
चालु आर्थिक वर्षको यो दस महिनामा अलैँचीको निर्यातले विदेशी मुद्रा स्वदेश ल्याउन सहयोग पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा अलैँची निर्यात सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा यो निर्यात ७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चार अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो । त्यतिबेला ४६ लाख ७० हजार ३६३ केजी मात्र निर्यात भएको अलैँची यो दस महिनामा ८९ लाख २१ हजार ६७९ केजी निर्यात भयो । परिमाण र मूल्यका हिसाबले चालु आर्थिक वर्षको दस महिनामा झन्डै दोब्बरकै हाराहारी निर्यात भएको छ । अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ ।
अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएको छ । खास गरी भारत, पाकिस्तान, इटाली अमेरिका, जर्मनीलगायत देशमा अलैँचीको माग बढेको छ । मसलाका साथै औषधि बनाउन प्रयोग गरिने अलैँची वास्तवमा खोल्सीको सुनका रूपमा समेत चिनिन्छ । पूर्वी पहाडका खेलाखोल्सामा अलैँचीको खेती बढ्दै गए पनि कुनै वर्ष भने रोग किराले सखापसमेत पार्ने गर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा अलैँची उत्पादन हुन्छ । खेती अरू विस्तार गर्न सकिन्छ ।
अलैँचीको निर्यात बढ्नु खुसीको कुरा भए पनि अझै नेपाली ब्राण्ड बन्न नसक्नु भने कमजोर पक्ष हो । भारतले नेपालबाट लगेको अलैँची उसैको ब्रान्ड बनाएर तेस्रो देशमा बजार बढाएको छ । व्यापारविज्ञ रविशङ्कर सैँजूको भनाइमा भारतले नेपाली अलैँचीलाई आफ्नो ब्रान्ड बनाएर निर्यात गर्ने गरेको छ । उहाँ नेपालले अचैँचीको आफ्नै ब्राण्ड बनाएर बाह्य बजारमा निर्यात गर्न सुझाव दिनु हुन्छ । यस्तो ब्राण्ड बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नु पर्छ । उत्पादनदेखि विश्व बजारीकरणमा स्वेदशी ब्राण्ड बनाउन अब ढिला गर्नु हुँदैन ।
अलैँचीसँगै अदुवा र चियाको समेत निर्यात बढ्नु थप महìवपूर्ण विषय हो । यो दस महिनामा गत वर्षको सोही अवधिभन्दा अदुवा निर्यात ८८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दस महिनामा ९० करोड सात लाख ५४ हजार रुपियाँ बराबरको दुई करोड १२ लाख नौ हजार केजी अदुवा निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४७ करोड ७१ लाख ५५ हजार रुपियाँ बराबरको ८२ लाख ८९ हजार ९७५ किलो निर्यात भएको थियो । त्यस्तै चियाको निर्यात २१ प्रतिशतले बढेको छ । साउनदेखि वैशाखसम्म तीन अर्ब ३४ करोड ७४ लाख ३४ हजार रुपियाँ बराबरको एक करोड ४७ लाख ८४ हजार ५१६ किलो चिया निर्यात भएको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ७६ करोड ३९ लाख ४२ हजार रुपियाँ बराबरको एक करोड ३५ हजार ४७२ किलो निर्यात भएको थियो । अलैँची, अदुवा र चिया कृषिउपज हुन् । यी उत्पादन र बाह्य बजारीकरणका निम्ति सरकार निजी क्षेत्रले मिलेर काम गर्न सक्दा राम्रो भविष्य स्पष्टै देखिन्छ । कृषि क्षेत्रको यो अपार सम्भावनालाई अझ वृद्धि गर्न गम्भीर बन्नु वाञ्छनीय छ ।