• १६ वैशाख २०८१, आइतबार

‘नीति तथा कार्यक्रम समयानुकूल छ, कार्यान्वयन हुनुपर्छ’

blog

राष्ट्रिय सभा बैठक । फाइल तस्बिर

काठमाडौं, जेठ ८ गते । राष्ट्रिय सभाका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद नरबहादुर विष्टले ‘क्रिप्टोकरेन्सी’ र ‘अनलाइन’ जुवाका कारण मुलुकको पैसा विदेश गइरहेको उल्लेख गर्दै यसमा संलग्नलाई कारबाही गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा मुलुक सुहाउँदो रहेको र यसमा भएका विषयवस्तु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा द्रुत विकास निर्माणका नयाँ कानुनको आवश्यकता औँल्याउनुभयो ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले मुलुकको वर्तमान परिस्थितिमा आएको नीति तथा कार्यक्रम जुन गम्भीरता हुनुपर्ने थियो त्यस्तो विषयवस्तु नभएको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेशी र समन्यायिक विकासका लागि ठोस कार्यक्रम नभएको आरोप लगाउनुभयो ।

सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हालै रुस भ्रमण गर्नुभएको र त्यहाँ भएका सहमतिका सन्दर्भमा नेपाल सरकारले कुनै अपनत्व नलिएको भन्दै गुनासो गर्नुभयो ।

सांसद कमला पन्तले नीति तथा कार्यक्रम सकारात्मक भएको र कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणप्रति सरकार पूर्ण प्रतिबद्ध उल्लेख गरिएको, हरित अर्थतन्त्रको विकासको कुरा स्वागतयोग्य भएको उहाँको भनाइ छ ।

‘युवासँग सरकार, हुनुपर्दैन बेरोजगार’ कार्यक्रममा के छ स्पष्ट गरिनुपर्ने उहाँको माग छ । स्वास्थ्य बीमाका नाममा जनतालाई दुःख दिने काम भएको र अस्पतालमा उपचार गराउन पनि दुई/तीन दिन कुर्नुपर्ने अवस्था रहेकामा सांसद पन्तले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम संविधानले निर्दिष्ट गरेका कुरा आएकाले यसैअनुरूप बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । पाँच लाख युवालाई रोजगारी दिने कुरा बजेटमा राम्रो भएको उल्लेख गर्नुहुँदै उहाँले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद कुमार दसौँदीले नीति तथा कार्यक्रम समसामयिक समस्या समाधान गर्ने गरी नआएकाले त्यसअनुरुप बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद दुर्गाकुमारी गुरुङले आयात प्रतिस्थापन गरी निर्यात बढाउने उद्देश्य राखेका नीति तथा कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । सांसद गोमादेवी तिमिल्सनाले विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखानालगायत उद्योग सञ्चालनमा ल्याउने गरी नीति तथा कार्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।

भृकुटी कागज कारखानाका विषयमा अहिले भएको विवादका बारेमा सरकारले जवाफ दिनुपर्ने उहाँको भनाइ थियो । गोरखकाली टायर उद्योग चलाउन नसक्नु लाजमर्दो भएको उल्लेख गर्नुहुँदै त्यसलाई चलाउन माग गर्नुभयो ।

बुटवल धागो उद्योग र हेटौँडा कपडा उद्योग चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रममा चलाउने उल्लेख गरिएकामा अझै सञ्चालन हुन नसकेको सांसद तिमल्सिनाले बताउनुभयो ।

सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा गुरुकुल, गुम्बा र मदरसाको विषय समावेश गरिनुपर्ने बताउनुभयो । सांसद बीना पोखरेलले नीति तथा कार्यक्रम सैद्धान्तिकता राम्रो भएकाले कार्यान्वयन पनि त्यसैअनुरूप हुनुपर्ने बताउनुभयो । रासस