• १७ पुस २०८१, बुधबार

नीति तथा कार्यक्रममा पिछडिएका समुदायको विषय आएन : भट्टराई

blog

तस्बिर : केशव गुरुङ

काठमाडौँ, जेठ ८ गते । नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं. १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाउनुभयो । उहाँले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन ? भनी प्रश्न गर्नुभयो ।

नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रूपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताउनुभयो । 

हिमाली  र पहाडी क्षेत्रबाट मानिस तराई र ठुला सहरमा बसाइसराइ गरिरहेको उल्लेख गर्दै उहाँले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ ? भनी प्रश्न गर्नुभयो ।

मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माण बसाइसराइ रोक्नका लागि गरिएको बताउँदै उहाँले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरूले त्यो अवधारणा ल्याएको जिकिर गर्नुभयो । 

नेता भट्टराईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र  कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थान बनाउनु कमजोरी नभएको स्पष्ट पार्दै व्यवसायिकरुपमा सञ्चालन गर्न नसक्नु चैँ कमजोरी भएको बताउनुभयो । भारतसँग कूटनीतिक सम्झौतामार्फत विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अघि बढाउन उहाँले सुझाव दिनुभयो ।  रासस