• १३ साउन २०८१, आइतबार

बुटवलमा पार्क सम्मेलन हुने

blog

पार्क सम्मेलनको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्विरः छविलाल पाण्डे ।

छविलाल पाण्डे 

बुटवल, जेठ ३ गते । पार्क व्यवस्थापनमा रहेका नीतिगत र कानुनी जटिलताको समाधान खोज्ने गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा दुई दिने पार्क सम्मेलन आयोजना हुने भएको छ । कानुनको अभावमा देशभर रहेका एक सय ५० बढी पार्कहरूको व्यवस्थापनमा चुनौती देखिएको भन्दै सरकारलाई कानुन बनाउन दबाब दिने उद्देश्यले बुटवलमा जेठ ६ र ७ गते पार्क सम्मेलन हुन लागेको हो । 

बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा नेपालमै पहिलोपटक राष्ट्रिय पार्क सम्मेलन हुन लागेको हो ।

बुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद हुने गरेको बताउँदै द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन दबाब दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताएका हुन् । 

बुटवलको मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेलले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरूको ठूलो महत्त्व भएपनि राज्यले अहिलेसम्म कानुनीरुपमा कुनै सम्बोधन नगरेको सम्मेलनबाट कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र रुपन्देहीका अध्यक्ष बेलप्रसाद शर्माले पार्कहरूलाई आर्थिक समृद्धि र पर्यटनसँग जोडेर विकास गर्न पनि पार्क सम्मेलन गर्न लागिएको बताउनुभयो । उहाँले पार्क सञ्चालनमा नीतिगत समस्याको पहिचान र निराकरणका उपायको खोजी गर्ने, पार्कमा रहेका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, प्राकृतिक सौन्दर्य र सम्पदाको संरक्षण गर्ने तथा नेपालमा रहेका पार्कहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारमा टेवा पुर्‍याउन सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका प्रचार संयोजक डीआर घिमिरेले नेपालको आर्थिक समृद्धिका लागि प्राय–पर्यटन एक महत्त्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरूलाई सहजरुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरूको राष्ट्रियस्तरको सञ्जाल निर्माण गर्ने बताउनुभयो । 

देशभरका करिब सय वटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको पार्क सम्मेलन तयारी समितिका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिनुभयो । 

सम्मेलनले नेपाल पार्क महासङ्घ गठन गरी बुटवल घोषणापत्रसमेत जारी गर्ने उहाँले बताउनुभयो ।